| मङ्लबार, भदौ ८, २०८३

हिमाली काखमा डेंगुको जोखिम, सामूहिक सतर्कताको जरुरी

उच्च पहाडी भूभागमा अवस्थित धार्चे गाउँपालिकामा पहिलो पटक डेंगु संक्रमण पुष्टि हुनुले जलवायु परिवर्तनको बढ्दो प्रभाव र नयाँ स्वास्थ्य चुनौतीलाई उजागर गरेको छ । केही दिनअघि खोर्लाबेशी र हुलचुकका तीनजना बिरामीमा सङ्क्रमण देखिनु सामान्य घटना मात्र होइन, यो चिसो हावापानी भएका दुर्गम बस्तीहरूमा समेत डेंगु सार्ने लामखुट्टेको पहुँच पुगिसकेको चिन्ताजनक संकेत हो । हिमाली काखका बासिन्दाका लागि यो नौलो र अप्रत्याशित स्वास्थ्य सङ्कट भए पनि स्थानीय समुदायले देखाएको तत्परता भने प्रशंसनीय छ ।

सङ्क्रमण पुष्टि हुनासाथ स्थानीय बासिन्दा, गाउँपालिकाको स्वास्थ्य शाखा, महिला समूह, आमा समूह र सुरक्षाकर्मीहरूको संयुक्त सक्रियतामा सुरु भएको सरसफाइ तथा जनसचेतना अभियान अनुकरणीय छ । पानी जम्ने ठाउँहरूको सफाइ गर्ने, लामखुट्टेको बासस्थान खोजेर अण्डा तथा लार्भा नष्ट गर्ने जस्ता कार्यले डेंगुको सम्भावित महामारीलाई सुरुवाती अवस्थामै रोक्न ठूलो मद्दत पु¥याउँछ । सामूहिक ऐक्यबद्धता र स्थानीय तहको तदारुकता नै यस्ता रोगहरूसँग जुध्ने मुख्य हतियार हो ।
तथापि, यो अभियानलाई केही दिनको औपचारिकतामा मात्र सीमित राख्नु हुँदैन । लामखुट्टेको पूर्ण निर्मूलन र डेंगुको रोकथामका लागि दीर्घकालीन योजना र निरन्तर सजगता आवश्यक छ ।

धार्चे गाउँपालिकाले स्वास्थ्य संस्थाहरूमा कीट र आवश्यक औषधिको पर्याप्त व्यवस्थापन गर्नुपर्छ ।
लामखुट्टेको टोकाइबाट बच्ने उपाय र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य चौकी जाने बानी बसाल्न निरन्तर अभियान चलाउनुपर्छ ।
प्रत्येक घरपरिवारले आफ्नो आँगन र वरपर पानी जम्न नदिने अभ्यासलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्छ ।
अहिले देखिएको उत्साहजनक सक्रियता र सामूहिक प्रयासले धार्चे क्षेत्रबाट लामखुट्टेको जोखिम निर्मूल होस् र डेंगु थप फैलिन नपाओस्। स्थानीय निकायको सबल नेतृत्वमा सम्पूर्ण नागरिक सचेत, सजग र जागरुक हुने हो भने यो चुनौतीलाई सजिलै परास्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्