
रैथाने बालीको संरक्षण र जैविक खेतीको प्रवर्धन गर
भौगोलिक धरातल र जलवायुको विविधताले नेपाललाई बहुमूल्य रैथाने बालीहरूको भण्डार बनाएको छ । गोरखाका उच्च पहाडी क्षेत्रमा अवस्थित धार्चे र हिमाली भेगको चुमनुब्री गाउँपालिका यसका प्रत्यक्ष उदाहरण हुन् । यी विकट हिमाली क्षेत्रहरूमा धान खेती सम्भव नभए पनि धार्चेमा गहुँ, जौ, मकै, कोदो, फापर, आलु र करु जस्ता बाली सप्रन्छन् भने अत्यधिक ठन्डी हुने चुमनुब्रीमा गहुँ, फापर र आलुको उत्पादन हुने गर्छ । कठिन मौसम र भूगोलमा एक बर्षमा एकफेर फल्ने यी रैथाने बालीहरू विशुद्ध जैविक (अर्गानिक), पौष्टिक तत्वले भरपूर, स्वादिष्ट र विषादीमुक्त हुन्छन् । यही मौलिक गुणस्तरका कारण बजारमा यस्ता खाद्यान्नको मूल्य र माग उच्च छ ।
अहिले आधुनिक र व्यावसायिक भनिएका वर्णसङ्कर (हाइब्रिड) बालीहरूको दबदबा बढ्दै जाँदा हाम्रा उच्च पहाडी र हिमाली हावापानीमा पाइने मौलिक र रैथाने खाद्यान्न ओझेलमा पर्ने खतरा बढेको छ । अधिक उत्पादन लिने लोभमा रासायनिक मल र किटनाशक विषादीको जथाभावी प्रयोग गर्ने हो भने यी हिमाली भेगको जैविक शुद्धता र रैथाने पहिचान सधैँका लागि नासिएर जानेछ । तसर्थ, आफ्नै मौलिक स्वाद, उच्च पोषण र प्राङ्गारिक गुणस्तर जोगाउन स्थानीय पालिका र प्रदेश सरकारले ठोस कदम चाल्नु अपरिहार्य भइसकेको छ ।
स्थानीय तह तथा प्रदेश सरकारले यी रैथाने बालीको संरक्षण, प्रवर्धन र बजारीकरणलाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ । कृषकहरूलाई अर्गानिक खेतीतर्फ प्रोत्साहन गर्न प्राङ्गारिक मल, प्राविधिक सहयोग र जैविक किटनाशकको सहज उपलब्धतातर्फ ध्यान दिनुपर्छ । साथै, यी उच्च हिमाली उत्पादकत्वलाई ‘ब्रान्डिङ’ गरी उचित बजार मूल्य सुनिश्चित गरिदिने हो भने कृषकको जीवनस्तर उकासिनुका साथै देशको कृषि अर्थतन्त्र र मौलिक पहिचानले समेत नयाँ उचाइ लिनेछ ।




