
आरुघाट अस्पतालको स्तरोन्नतिका लागि दुई जिल्लाका प्रतिनिधि बीच छलफल
गोरखा र धादिङको बीचमा अवस्थित आरुघाट आधारभूत अस्पतालको सेवा बिस्तारका लागि दुवै जिल्लाका प्रतिनिधिहरु बीच छलफल भएको छ । ऐतिहासिक आरुघाट बजारमा रहेको अस्पतालको सेवा विस्तार गर्न दुवै जिल्लाका ६ वटा पालिकाका प्रतिनिधिहरु जिम्मेवार भएर लागिपर्ने निश्कर्ष निकालिएको आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक प्रवीन थापाले बताए ।
आरुघाट आधारभूत अस्पतालको प्रभावित पालिकाहरु धादिङको त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिका अनि गोरखाको भिसेनथापा, धार्चे र चुमनुब्री गाउँपालिका पदाधिकारीहरुसँग छलफल भएको थापाले बताए । सो कार्यक्रममा आरुघाट अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा बिस्तार, नसर्ने रोगको उपचार, स्वास्थ्य वीमा कार्यक्रम कार्यान्वयन र हेमोडायलिसिस सेवा संचालन गर्न आवश्यक पहल गर्ने निर्णय भएको छ ।
आरुघाट अस्पतालमा यी सेवाहरु बिस्तार गर्न सबै गाउँपालिकाहरुले सहयोग तथा समन्वय गर्ने निर्णय भएको पालिकाको स्वास्थ्य शाखा प्रमुख थापाले बताएका छन् । ‘आरुघाट बजार बीच भागमा पर्ने हुनाले यहाँको अस्पतालमा धादिङका दुई र गोरखाका तीन गाउँपालिकाका बिरामीहरु सेवा लिन आउँछन्’, थापाले भने, ‘त्यसैले आरुघाट आधारभूत अस्पतालको सेवा बिस्तार गर्न सबै पालिकाहरुले पहल गर्ने निर्णय भएको छ । यसले गर्दा ६ वटै पालिकाका नागरिकहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सक्छन् ।’
कार्यक्रममा अस्पतालको सामाजिक सेवा इकाईमार्फत अति विपन्न, असहाय, कारागारका बिरामीहरु, बेवारिसे बिरामी र बृद्धबृद्धाहरुलाई निशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । सामाजिक सेवा इकाई स्थापनाका लागि ६ वटै गाउँपालिकाहरुले सहकार्य, समन्वय गर्ने निर्णय भएको उल्लेख छ । गाउँपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समिक्षा कार्यक्रममा आरुघाट अस्पतालको स्तरोन्नति गर्ने विषयमा समेत छलफल भएको उनले जानकारी दिए ।
कार्यक्रममा अरुघाटले पालिकाको उत्कृष्ट स्वास्थ्य संस्था र उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । आव २०८२/०८३ मा जनस्वास्थ्य सेवा कार्यक्रमका सूचकहरुको तथ्याङ्कीय कार्यसम्पादनका आधारमा उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई पालिकाले सम्मान गरेको हो ।
जनस्वास्थ्य सेवा कार्यक्रमका सूचकहरुका आधारमा पालिकाको मान्बु स्वास्थ्य चौकी उत्कृष्ट स्वास्थ्य संस्था र आरुपोखरी स्वास्थ्य चौकीमा कार्यरत सरस्वती बोहरा उत्कृष्ट स्वास्थ्यकर्मी घोषित भएका छन् । उनीहरुले नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरेको आरुघाट गाउँपालिकाले जनाएको छ ।
आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङको संयोजकत्वमा भएको छलफल तथा असल अभ्यास सम्बन्धी साझा सवाल कार्यक्रममा गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, भीमसेनथापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य निरीक्षक नवराज खड्का लगायतको उपस्थिति रहेको थियो ।




