| सोमवार, भदौ ७, २०८३

गाउँपालिकामै पहिलो पटक डेँगु पुष्टि भएपछि धार्चेमा सचेतना अभियान

जिल्लाको उच्च पहाडी भूभागमा रहेको धार्चे गाउँपालिकाको बिरामीमा पहिलोपल्ट डेँगु संक्रमण पुष्टि भएको छ । वडा नं. ३ खोर्लाबेशीका दुईजना र वडा १ हुल्चुकका एक बिरामीमा डेँगु संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका संयोजक अमृत घलेले जानकारी दिए ।

बिरामीहरुलाई हाल गाउँपालिकाको खोर्लावेशीस्थित आधारभूत अस्पतालमा उपचार भइरहेको घलेले बताए । ‘हाम्रो धार्चेमा यसअघि डेँगु संक्रमण कत्तिपनि थिएन । यसपटक केही दिनको अन्तरालमा तीनजना बिरामीलाई डेँगु संक्रमण भएको पुष्टि भयो’, घलेले भने, ‘लामखुट्टे पनि खासै लाग्दैनथ्यो । खच्चड र मोटर चल्न थालेपछि लामखुट्टे पनि आयो, डेँगु पनि आयो ।’ समुद्री सतहदेखि पन्द्रसय मिटर उचाइमा अवस्थित माछाखोेला, खोर्लाबेशी, दोभानजस्ता ठाउँहरुमा पहिलोपल्ट डेँगु संक्रमण सुरु भएपछि स्थानीयबासीमा चिन्ता बढेको उनले बताए ।

गाउँपालिकाको स्वास्थ्य शाखाको संयोजनमा स्थानीयबासी लामखुट्टेको बासस्थान खोज्ने र लार्भा नष्ट गर्ने अभियानमा लागेका छन् । ‘अबका दिनमा उत्तरी क्षेत्रका गाउँहरुमा डेँगु संक्रमण बढ्न नदिन आइतबारदेखि डेँगुको लार्भा खोज र नष्ट गर अभियान सुरु गरेका छौँ । साथै सचेतना कार्यक्रम पनि गरेका छौँ ।’ डेँगुबाट बच्ने सन्देशहरु बजाउँदै माइकिङ पनि गरिएको घलेले बताए ।

गाउँपालिकाको स्वास्थ्य शाखाको संयोजनमा सुरु भएको अभियानमा पालिकाका कर्मचारीहरु, सुरक्षाकर्मीहरु, शिक्षक, आमा समूह, युवा क्लव, व्यापारी तथा व्यवसायीहरु सहभागी भएका उनले बताए । ‘आइतबार हामीले पानी जम्ने खाल्डाखुल्डी पुर्ने, पानी राख्ने ट्याङ्की, बाल्टी तथा टायरहरु सरसफाइ गर्ने काम गर्यौ’, घलेले भने, ‘अब यो अभियानलाई अब निरन्तरता दिनेछौँ ।’ गाउँपालिकामै पहिलोपल्ट डेँगु प्रवेश गरेपछि स्थानीयबासी पनि गम्भीर भएर लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियानमा सरिक भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्