| सोमवार, भदौ ७, २०८३

हिमाली क्षेत्रका बासिन्दाले गहु्ँ भित्र्याए, फापर र तोरी काट्न सुरु

प्रतीक्षा आले
हिमाली भेगको प्रमुख बाली गहुँ भित्र्याउन यतिबेला हिमालपारिको गाउँ चुमभ्यालीमा किसानहरुलाई भ्याइनभ्याइ छ । तिब्बती सीमा क्षेत्रमा रहेको गोरखाको चुमनुब्री गाउँपालिका ७ चुमभ्यालीमा किसानहरु गहुँ काट्न, कुट्न, केलाउन र थन्क्याउन व्यस्त बनेका हुन् । पुरुषहरु गहुँ काट्ने, कुट्ने र महिलाहरुले गहुँ केलाउने, थन्क्याउने गर्ने चुमभ्यालीको छेकम गाउँका दोर्जे लामाले बताए ।

प्रमुख बाली गहुँ भित्र्याएका उनीहरु केही दिनपछि तोरी र फापर काट्न, झाँट्न र कुट्नमा व्यस्त हुने लामाले जानकारी दिए । गत वर्षको असोजमा लगाएको गहुँ, फापर र तोरी अहिले काट्ने बेला लामाको भनाइ छ । चुमभ्यालीमा साउन पहिलो हप्तादेखि गहुँ काट्न सुरु गरिएको थियो । चुमका वडाअध्यक्ष, लामा गुरुहरु र स्थानीय भद्र भलादमीहरुले साइत जुराएर गहुँ काट्न सुरु गरेका हुन् । यस क्षेत्रमा बाली भित्र्याउनु अघि लामाले दिन हेराएर, साइत जुराउने चलन छ ।

चुमभ्यालीमा लामाले दिन जुराएर बाली भित्र्याएमा मौसम अनुकूल हुने जनविश्वास रहेको स्थानीय प्रमुख लामा पासाङ फुञ्जो लामाले बताए । त्यहाँ सबै गाउँमा एकैचोटी बाली काट्दैनन् । गाउँलेहरु आलो, पालो गरेर बाली भित्र्र्याउने पासाङ फुञ्जोले जानकारी दिए । छेकम, जोङ, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, पाङदुन, छुले र निले गाउँका बासिन्दाले मेलापर्म पद्धतिअनुसार आलोपालो गरेर बाली काट्ने, कुट्ने, केलाउने र भित्र्याउने गरेको उनको भनाइ छ ।

अबको एकमहिना भित्रमा चुमभ्यालीमा सबै गाउँलेले मुख्य बाली गहुँ, फापर र तोरी भित्र्याइसक्छन् । एउटै वडा भए पनि छेकमबाट छुले, निले झण्डै चारघण्टा पैदल हिँड्नु पर्छ । भौगोलिक हिसावले धेरै पर भएपनि छेकमदेखि छुलेनिलेसम्म स्थानीयहरु आलोपालो अर्मपर्म गरेर बाली भित्र्याउने पुरानै प्रचलन रहेको प्रमुख लामा पासाङ फुञ्जो बताउछन् ।
चुमनुब्री गाउँपालिका ७ छेकम्पार तिब्बतको सीमा क्षेत्रमा अवस्थित गाउँ हो । ३३०० देखि ३५०० मिटर उचाइमा अवस्थित यहाँका बारीमा गहुँ पाक्न ११ महिना लाग्ने गर्दछ । ‘गत असोजमा रोपेको गहुँ यतिबेला भित्र्याउन पाइन्छ’, पासाङ फुञ्जोले भने, ‘अब खालि बसेको जग्गामा फेरि असोजतिर गहुँ लगाइन्छ । यहाँ गहुँ, फापर र आलु मात्र खेती गर्ने गरिन्छ ।’

बारीमा गहु्ँ र फापर आलोपालो गरी बालीचक्र मिलाएर लगाइने चलन रहेको उनले बताए । एक खेती मात्र लाग्ने चुमभ्यालीमा ११ महिना लगाएर फलेको गहुँले वर्षभरि खान पुग्छ । यहाँ उत्पादित गहुँ, फापर उच्च गुणस्तरको हुने भएकाले काठमाडौँ तथा विदेशमा बस्ने लामा गुरुहरुले पनि झिकाएर खाने गरेको लामा पासाङको भनाइ छ । यहाँ उत्पादित गहुँ प्रति घ्वाक १५० रुपैँयामा किनबेच हुन्छ ।

बाली काट्न र कुट्न मेसिनको प्रयोग बढ्दै
हिमाली भेगमा पनि बिगत १० बर्षदेखि खेती प्रणालीमा मेसिनको प्रयोग गर्ने क्रम बढेको छ । चुमभ्यालीका किसानहरुले तिब्बती बजारबाट मेसिन ल्याएर प्रयो गर्ने गरेकाछन् । त्यहाँ घरघरमा गहुँ काट्ने र कुट्ने मेसिन छ । ‘१० जना मान्छेले गर्नेजति काम एउटा मेसिनले एकैछिनमा गर्नसक्दो रहेछ । धेरै सजिलो भएको छ’, चुमनुब्री–७ छेकम्पारका वडाअध्यक्ष टासी दोर्जे लामाले भने । प्रमुख बाली गहुँ र फापर मु्ख्यगरी ढिडो खान प्रयोग गरिन्छ ।

‘हाम्रोतिर प्रायः एकछाक ढिँडो, एकछाक चामलको भात खाने चलन छ’, वडाअध्यक्ष लामाले भने, ‘अनि चम्पा खान, रोटी खान पनि गहुँ प्रयोग गरिन्छ । त्यस्तै, याक, चौरीको खाना बनाउन, रक्सी, छ्याङ आदि बनाएर खान पनि गहुँ प्रयोग गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्