
गुम्दामा आजदेखि आलुमेला सुरु, मेलाको सबै तयारी पूरा
आलुको राजधानी भनेर चिनिने धार्चे गाउँपालिका ५ गुम्दामा आजदेखि आलुमेला सुरु हुँदैछ । थामरा धार्चे युवा क्लव र गुम्दा एकता युवा क्लवले आयोजना गरेको मेलाको मंगलबार बिहान ११ बजे गण्डकी प्रदेशका जलस्रोत, सिँचाइ तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपानेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन र भावीलाई उत्थान’ भन्ने मूल नाराका साथ आयोजना हुने मेलामा सामाजिक विकास तथा खेलकुद मन्त्री रेखा गुरुङ, धार्चे गाउँपालिकाका प्रमुख लक्ष्मण गुरुङ पनि सहभागी हुनेछन् । ऐतिहासिक गुम्दा आलु मेलामा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुल््ला लोकनृत्य प्रतियोगिता, आलु खाने प्रतियोगिता, छेलो प्रतियोगिता तथा डोरी तान्ने प्रतियोगिता हुने आयोजक थमरा युवा क्लवका अध्यक्ष सन्तोष गुरुङले बताए । साथै, स्थानीय स्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको उनले जानकारी दिए ।
मेलामा १० वटा स्टलहरु निर्माण गरिएका छन् । स्टलमा स्थानीय उत्पादनहरु र विशेषगरी आलु परौठा, आलु चिप्स, आलुको तरकारी, उसिनेको आलु, आलुकै खाना लगायतका आलुका परिकारहरु उपलब्ध हुने उनले जानकारी दिए । गुम्दामा उत्पादित आलुको प्रचारप्रसार गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । ‘खेलको माध्यमले युवा प्रतिभा पहिचान गर्नु, उनीहरुमा उत्प्रेरण जगाउनु र स्थानीय पर्यटन प्रवद्र्धन गर्नु पनि हाम्रो मुख्य उद्देश्य हो’, गुरुङले भने ।
मेलामा हुने पालिका स्तरीय भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिमले क्रमश रु ८० हजार, ५० हजार र २० हजार नगद सहित टूफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकको भनाइ छ । जिल्लाको उत्तरी भेगमा पर्ने धार्चे, चुमनुब्री, आरुघाट, बारपाक सुलिकोट र अजिरकोट गाउँ पालिकाको टिमले मात्र प्रतियोगिता मा सहभागिता जनाउन पाउने छन् । टिम दर्ता शूल्क भने रु सातहजार ५५५ कायम भएको छ । यसवर्ष महिलातर्फको भलिबल प्रतियोगिता भने आयोजना नगरिने आयोजक क्लवका अध्यक्ष सन्तोष गुरुङले बताएका छन् ।
यो वर्ष महिला टोलीहरुले सहभागिता नजनाउने भएपछि महिलातर्फको भलिबल नहुने उनको भनाइ छ । आलु खाने प्रतियोगितातर्फ प्रथम हुनेले पाँच पाथी आलु पुरस्कार जित्ने आयोजक क्लवले जनाएको छ । यसैगरी, खुल्ला लोक नृत्यतर्फ प्रथम र द्वितीय हुनेले क्रमश रु पाँच हजार र तीनहजार प्राप्त गर्ने बताइएको छ ।




