
नसर्ने रोगको बढ्दो जोखिम न्यूनिकरण गर्न पहलको खाँचो
पछिल्लो समय विश्वभर नसर्ने रोग एउटा भयानक जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको छ । कुनै समय सरुवा रोगको त्रासले माथि उठ्न नसकेको मानव समाज आज क्यान्सर, मुटुरोग, हृदयघात, पक्षघात, मधुमेह र मृगौला रोगजस्ता जटिल नसर्ने रोगहरूको चपेटामा परेको छ । तथ्याङ्कहरूले देखाउँछन् कि सरुवा रोगभन्दा नसर्ने रोगका कारण बिरामी हुने र असामयिक ज्यान गुमाउनेहरूको सङ्ख्या तीव्र रूपमा बढिरहेको छ । यो केवल स्वास्थ्य क्षेत्रको मात्र नभएर सिङ्गो देशको सामाजिक र आर्थिक विकासकै लागि गम्भीर चिन्ताको विषय बनेको छ ।
नसर्ने रोगको यो महामारी आफैँ उत्पन्न भएको होइन । यो हाम्रै परिवर्तित र अस्वस्थ जीवनशैलीको दुष्परिणाम हो । आधुनिकताका नाममा मानिसहरूको खानपान र दैनिकीमा आएको नकारात्मक परिवर्तन नै यसको मुख्य कारण हो । बजारमा पाइने रसायनयुक्त, अखाद्य पदार्थ मिसाइएका र जङ्क फुडको अत्यधिक प्रयोगले मानव शरीरलाई भित्रभित्रै कमजोर बनाइरहेको छ । अर्कोतर्फ, प्रविधिको विकाससँगै भौतिक श्रम र शारीरिक व्यायाम घट्दै गएको छ ।
बाह्य वातावरणमा घुलमिल हुने र सामाजिकीकरण हुने परम्परालाई त्यागेर मानिसहरू चार पर्खालभित्र मोबाइल, कम्प्युटर र टिभीका पर्दामा घण्टौँ हराउने आदतका सिकार भएका छन् । मानसिक तनाव, धुम्रपान, मद्यपान र पर्याप्त निद्राको अभावले यो जोखिमलाई अझ दोब्बर बनाइदिएको छ । यो भयावह स्थितिलाई न्यूनीकरण गर्न अब ढिला भइसकेको छ ।
नसर्ने रोगलाई रोक्ने पहिलो र प्रभावकारी उपाय भनेकै स्वस्थ जीवनशैलीको अवलम्बन हो । यसका लागि व्यक्ति, समाज र राज्य तीनै तहबाट ठोस कदम चालिनु आवश्यक छ । खानपानमा सुधार, नियमित शारीरिक व्यायाम, डिजिटल डिटोक्स र सामाजिकीकरण स्क्रिन टाइम घटाएर प्रकृतिसँग समय बिताउने जस्ता क्रियाकलाप गर्नु आजको आवश्यकता हो । साथै सचेतना र नियमित स्वास्थ्य परीक्षण गर्ने बानीले रोग समयमै पत्ता लगाई ठूलो क्षति हुनबाट जोगिन सकिन्छ ।




