
जोय फाउण्डेशनद्वारा गोरखाका ३६३ विद्यार्थीलाई दन्त उपचार सेवा
ताइवानको ताइपेइ मेडिकल युनिभर्सिटीको आर्थिक तथा प्राविधिक सहयोगमा जोय(आनन्द) फाउण्डेशन नेपालले गोरखाका दुई सामुदायिक विद्यालयका ३६३ विद्यार्र्थीहरुलाई दन्त उपचार सेवा प्रदान गरेको छ । गोरखा नगरपालिका ६ को बालमन्दिर माध्यमिक विद्यालय र वडा नं. १० स्थित मनकामना बहिरा आवासीय माविका गरी कूल ३६३ जना विद्यार्थीहरुलाई दन्तरोग सम्बन्धी उपचार गरेको हो ।
फाउण्डेशनले मनकामनाम बहिरा आवासीय विद्यालयका १२३ जना विद्यार्थी र बालमन्दिर माविका २४० जना विद्यार्थीहरुको दाँतको उपचार गरेको संस्थाका सम्तान लामाले जानकारी दिए । शिविरमा ताइवानस्थित ताइपेई मेडिकल युनिभर्सिटीका २० जना दन्तरोगसम्बधी अध्ययन गरिरहेका विद्यार्थी र तीनजना चिकित्सकको टोलीले दाँत चेकजाँच तथा उपचार गराएका थिए ।
सो संस्थाले गतबर्ष पनि यी दुई विद्यालयमा दन्त उपचार शिविर सञ्चालन गरेको थियो । विद्यालयमा बर्सेनि बालबालिकाको दाँतको परीक्षण तथा उपचार गरेर सेवा दिएकामा बालमन्दिर माविका प्रधानाध्यापक भार्गववावु पाण्डेले धन्यवाद ज्ञापन गरेका छन् ।




