| शुक्रबार, साउन २१, २०८३

पारिवारिक जग जोगाउने चुनौती

गोरखा जिल्ला अदालतमा एकै वर्षमा ६१५ जोडीले सम्बन्ध विच्छेदका लागि निवेदन दिनु केवल अदालतको तथ्याङ्क मात्र होइन, यो हाम्रो सामाजिक र पारिवारिक संरचनामा आउन थालेको गम्भीर हलचलको सङ्केत हो । समाजको सबैभन्दा सानो तर अति महत्वपूर्ण एकाइ नै परिवार हो । तर, पछिल्लो समय बढ्दो सम्बन्ध विच्छेदका घटनाले हाम्रा पारिवारिक मूल्य–मान्यता र सामाजिक संरचना नै विग्रहको दिशामा तानिन थालेको त होइन भन्ने चिन्ता उब्जाएको छ ।

सम्बन्ध विच्छेदका बहुआयामिक कारणहरूमध्ये वैदेशिक रोजगारी एक प्रमुख कारकका रूपमा देखा परेको छ । रोजगारीको खोजीमा श्रीमान् वा श्रीमतीमध्ये एक वा दुवै विदेशिनुपर्ने बाध्यता आजको यथार्थ हो । तर, लामो भौतिक दूरी, दोहोरो सञ्चारको अभाव, र एक–अर्काप्रतिको अविश्वासले वैदेशिक रोजगारीमा गएका जोडीहरूमा असहमति र असमझदारी बढाउँदै लगेको छ । यसले अन्ततः वर्षौंसम्म सँगै बिताउने वाचा गरेका सम्बन्धहरूलाई अदालतको ढोकासम्म पु¥याएर टुङ्ग्याइदिने गरेको छ ।

श्रीमान् र श्रीमती दुवैका आफ्ना व्यक्तिगत जीवन, सपना र भावना हुन्छन् । एउटा सफल दाम्पत्य जीवनको मूल मन्त्र भनेकै एक–अर्काको भावना र अस्तित्वलाई स्वीकार गर्नु, बुझ्नु र अर्काको खुसीमा आफ्नो खुसी देख्न सक्नु हो । विशेष गरी, पारिवारिक सुख, जिम्मेवारी र स्वस्थ सम्बन्ध कसरी कायम राख्ने भन्ने व्यावहारिक शिक्षाको अभावले गर्दा साना समस्याहरू पनि विच्छेदको कारण बनिरहेका छन् ।

वर्तमान आर्थिक परिप्रेक्ष्यमा वैदेशिक रोजगारीलाई रातारात शून्यमा झार्न असम्भव प्रायः छ । त्यसैले, वैदेशिक रोजगारीलाई दोष दिएर मात्र समस्याको समाधान हुँदैन । अबको मुख्य आवश्यकता भनेको वैदेशिक रोजगारीमा जाने वा जान तयार भएका युवायुवतीहरूलाई स्वस्थ र परिपक्व पारिवारिक सम्बन्धबारे सचेतना र शिक्षा दिनु हो ।

सम्बन्ध जोड्न सजिलो छ, तर त्यसलाई बचाउन र हुर्काउन दुवै पक्षको धैर्य र बुझाइ चाहिन्छ। परिवार फुट्नु भनेको दुई व्यक्ति अलग्गिनु मात्र होइन, यसले बालबालिकाको भविष्य र समग्र समाजको शान्तिमा नै ठूलो असर पार्छ। तसर्थ, सम्बन्ध विच्छेदको यो कहालीलाग्दो दरलाई रोक्न राज्य, समाज र व्यक्ति स्वयंले समयमै परिवार जोगाउने तर्फ सोच्न र कदम चाल्न ढिला गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस्