| बुधबार, साउन १९, २०८३

नागरिक जहाँ, सरकार त्यहीँ—चुमनुब्रीको अनुकरणीय अभ्यास

भौगोलिक विकटता, हिउँदे चिसो र बर्खायामको पहिरो । बाटो हिँड्दा माथिबाट खस्ने ढुङ्गा र भीरको जोखिम । गुणस्तरीय शिक्षा, स्वास्थ्य र खाद्यान्नको निरन्तर अभाव—यो कुनै काल्पनिक कथा होइन, गोरखाको चुमनुब्री गाउँपालिकाका बासिन्दाले दिनहुँ भोग्दै आएको कठोर यथार्थ हो । यही बाध्यताका कारण आज चुमनुब्रीका सम्भावना बोकेका गाउँहरू रित्तिँदै गएका छन् ।

आफ्नो थातथलो छाडेर काठमाडौँलगायतका सहरमा डेरा लिएरै भए पनि बस्न विवश हुनु उनीहरूको रहर नभई जीवन रक्षाको अन्तिम विकल्प बनेको छ । गाउँ खाली हुनु देशकै लागि चिन्ताको विषय हो, तर त्योभन्दा ठूलो कुरा आफ्ना नागरिकको दैनिक सास्ती र आवश्यकता हो । यस्तै पृष्ठभूमिमा चुमनुब्री गाउँपालिकाले अपनाएको ‘सेवाग्राही जहाँ छन्, सरकार त्यहीँ पुग्छ’ भन्ने नीति भने अत्यन्तै व्यावहारिक, मानवीय र प्रशंसनीय छ ।

हालै मात्र गाउँपालिकाले काठमाडौँको स्वयम्भूमा पुगेर सहरमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ताको अभिलेख अद्यावधिक गर्ने सेवा प्रदान ग¥यो । हिँड्न नसक्ने वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र आर्थिक रूपमा विपन्न नागरिकलाई सामान्य कागजी कामकै लागि ज्यान जोखिममा पारेर ठूलो खर्चसहित गाउँसम्म धाउनुपर्ने बाध्यताबाट मुक्त गराउनु स्थानीय सरकारको दूरदर्शी कदम हो ।

संघीताको असली मर्म भनेकै जनतालाई घरदैलोमा सरकारको अनुभूति दिलाउनु हो, र चुमनुब्रीले सहरमै भए पनि आफ्ना नागरिकलाई अभिभावकत्व दिएर सो मर्मलाई व्यवहारमा उतारेको छ । सामाजिक सुरक्षा भत्ताको अभिलेख अद्यावधिक गर्ने कार्यले जुन सकारात्मक सन्देश दिएको छ, त्यसलाई अन्य आधारभूत प्रशासनिक सेवाहरूमा पनि विस्तार गर्नु आवश्यक छ ।

सहरमा बसोबास गर्ने विस्थापित नागरिकहरूका लागि नागरिकता सिफारिस, व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाइँसराइ), नाता प्रमाणित जस्ता सेवाहरू समेटेर निश्चित समयको अन्तरमा एकीकृत शिविर सञ्चालन गर्नु पनि आवश्यक पर्न सक्छ ।

काठमाडौँ वा बाहिर रहेका नागरिकले सानातिना सिफारिसका लागि पालिका धाउन नपर्ने गरी अनलाइन सेवालाई अझ सहज र पहुँचयोग्य बनाइनुपर्छ । सहरमा आर्थिक सास्ती भोगिरहेका गाउँलेहरूका लागि समय–समयमा स्वास्थ्य शिविर तथा कल्याणकारी कोषमार्फत राहतका कार्यक्रम जोड्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्