| शुक्रबार, साउन ७, २०८३

धार्चे खण्डमा सडक सञ्चालन सँधैको बर्खायाममा सकसपूर्ण्

गोरखाको धार्चे गाउँपालिका सडकखण्ड अक्सर पहिरोको चपेटामा पर्ने गरेको छ । आरुघाट गाउँपालिकाको सोती, अर्मला कटेदेखि चुमनुब्री ३ जगत नपुगेसम्मको जम्मै भूभाग धार्चेमा पर्छ ।

दुखद कुरा यो छ कि, बेनिघाट आरुघाट लार्के सडकको आरुघाटसम्मको खण्ड प्रायः समस्यामा पर्दैन । जब धार्चे सुरु हुन्छ, तब जताततै पहिरोले हैरानी दिन्छ । कि सडकमाथिबाट आएको पहिरो, कि सडक तल झर्ने पहिरोले सँधै कहीँ न कहीँ, कतै न कतै समस्या बनाइरहन्छ ।

केही बर्षअघिसम्म फुंगीखोलामा धेरै बाधा व्यवधान हुने गर्दथ्यो । गतबर्ष नौलीखोला खण्डमा समस्या थियो । दोभानभन्दा केही तल र केही माथिको खण्डमा समस्या थियो । यो बर्ष विशेषगरी कालोभीरले समस्या बनाइरहेको छ । अहिले नयाँ ठाउँमा समस्या देखिएको छ । लिदिङमा सडकमाथिबाट ठूलो पहिरो खसेर बाटो अवरुद्ध गरेको छ । भलै बुधबार मौसम सफा भयो र पन्छ्याएर पुनः सुचारु भएको छ ।

सोती(माछाखोला(जगत खण्ड पहिरोले अवरोध ग¥यो भने धार्चेलाई जत्तिकै समस्या चुमनुब्रीलाई पनि पर्दछ । धार्चेको त वैकल्पिक बाटाहरु छन् । लाप्राक, गुम्दा, सिङ्ला, यमगाउँ, लप्सीबोट पुग्न बारपाकको बाटो छँदैछ । काशिगाउँ, केरौंजाका लागि मान्बुबाट अर्को बाटो छँदैछ । तर सो खण्डमा अवरोध भएमा चुमनुब्रीको मुख्यमार्ग नै थुनिन्छ । तथापि धार्चेले अविराम सो मुख्यमार्ग खुलाइरहन्छ । यसरी हेर्दा सडक धार्चेका लागि भारी परेको छ । धार्चेका लागि मात्र होइन, पहाडी भूबनोट नै यस्तै, त्यसैले त पहाडी भूभागमा विकास निर्माणको काम कष्टपूर्ण हुन्छ । यो कठिनाइ धार्चेले झेलिरहेको छ । तथापि अथक रुपमा सडक सुचारु गर्न लागि परिरहेको छ ।

पछिल्ला बर्षहरुमा सडक सुचारु गर्न हाइडूोपावर कम्पनीहरुसंग समन्वय गर्न थालेपछि धार्चेलाई एक हदसम्म सहज पनि भएको छ । जे जसरी होस्, भीर पहरा पन्छ्याएर सडक सुचारु गर्न सँधै तदारुकता देखाउने धार्चेको प्रयत्नलाई सम्मान गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्