| मङ्लबार, साउन ४, २०८३

ट्राफिक नियमसम्बन्धी तालिमको खाँचो

गोरखामा विगतका बर्षहरुमा भन्दा गत आर्थिक बर्ष दुर्घटनाको संख्यामा वृद्धि भएको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्राप्त तथ्यांकअनुसार राजस्व भने विगतको बर्षमा भन्दा कम संकलन भएको छ । गत भदौमा भएको जेनजी आन्दोलनपछि प्रहरीका स्रोतसाधन नष्ट भएको तथा उच्च मनोबलका साथ काम गर्ने ट्राफिक प्रहरीमा मनोबल गिरेकाले केही समयसम्म काम रोकिएका कारण पनि हुनसक्छ ।

अहिले फेरि ट्राफिक प्रहरीको सक्रियता बढेको छ । सवारी नियम उल्लंघन गर्नेलाई जरिबाना गर्ने, राजस्व संकलन गर्ने कामले तिब्रता पाएको छ । राजस्व बढोस् वा घटोस्संग त्यति धेरै चासो होइन । राजस्व संकलनमा ठूलो योगदान दिने ट्राफिक प्रहरीको प्रमुख कर्तव्य होइन । ट्राफिक प्रहरीले जतिसक्दो सडकको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउने हो । सवारी नियम उल्लंघनका घटना जतिसक्दो कम गराउने हो । सवारी दुर्घटना जतिसक्दो कम गराउने हो ।

त्यसका लागि ट्राफिक नियमसम्बन्धी सचेतना बढाउनु पर्दछ । अहिले देशभर सडक सञ्जाल बढिरहेको छ । साथै यातायातका साधनको संख्या पनि उल्लेख्य वृद्धि भइरहेको छ । यो अवस्थामा सवारी दुर्घटना हुने सम्भावना धेरै हुनु स्वभाविक छ । त्यसैले त्यसतर्फ मध्यनजर गरी ट्राफिक प्रहरी कार्यालयले विशेषगरी सहरी क्षेत्रमा अनि ग्रामीण क्षेत्रमा पनि सवारी नियम पालनासम्बन्धी तालिमहरु प्रशस्त मात्रमा गर्नुपर्छ ।

भर्खर सवारी साधनतर्फ उन्मुख हुँदै गरेका नयाँपुस्ताहरु, जो स्कूल, कलेजमा ठूलो संख्यामा भेटिन्छन्, उनीहरुलाई सवारी नियमसम्बन्धी कक्षा लिनु जरुरी छ । त्यस्तै यातायात मजदुरहरुलाई पनि समय समयमा सवारी नियम सम्बन्धी तथा यात्रु र अन्य व्यक्तिसंग सुमधुर सम्बन्ध काम गर्ने, सभ्य व्यवहार गर्ने सम्बन्धी तालिमहरु दिइरहनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्