| आइतवार, असार २७, २०८३

प्रेरणाका स्रोत लालबहादुर विक

पढ्नलाई उमेरले छेक्दैन भन्ने उक्ति स्वामी प्रपन्नाचार्यबाट चलेको थियो । उनी ३० बर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढेका थिए । अहिले यही उक्तिलाई उन्नत गराएका छन्, गोरखाका लालबहादुर विकले ।

कक्षा ७ पढ्दापढ्दै २०३५ सालमा प्रहरी सेवामा भर्ना भएका उनले २०४२ सालमा तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित रामशाह माविबाट ‘प्राइभेट’तर्फ एसएलसी उतीर्ण गरेका थिए । २०५५ सालमा नेपाल प्रहरीको सहायक निरीक्षक(सई) पदबाट सेवानिवृत्त भएका उनी केही समय राजनीतिमा सक्रिय पनि रहे । अहिले लेखपढमा तल्लीन छन् ।

उनी २०८१ मा पालुङ्टा नगरपालिका ५ स्थित भवानी माविमा कक्षा ११ मा भर्ना भई पढेका थिए । नेपाली र स्वास्थ्य विषय लिएर अध्ययन गरेका उनले निरन्तरको मिहिनेतका कारण कक्षा ११ र कक्षा १२ को परीक्षा नियमित रुपमा उतीर्ण गरे ।
त्यसपछि उनी अहिले सोही ठाउँको भवानी क्याम्पसमा स्नातक तह प्रथम बर्षमा भर्ना भएका छन् । लगातार अहिले पनि उनी नेपाली र स्वास्थ्य विषय लिएर अध्ययन गर्दैछन् ।

उनी नयाँ पुस्ताका लागि त प्रेरणाका स्रोत भइ नै सके, प्रौढ पुस्ताका लागि पनि पढ्नुपर्छ भन्ने जागरणका पुञ्ज बनेका छन् । यतिसम्म कि एउटा योग्यता पु¥याएर पढाइ रोकी जागिर वा कुनै पेशा, व्यवसाय गरेर बसेकाहरुलाई पनि योग्यता थप्न झक्झक्याउने प्रेरणाका स्रोत बनेका छन् ।

त्यहाँ अध्यापन गराउने शिक्षक, प्राध्यापक पनि लालबहादुरबाट प्रेरणा लिएको बताउने गर्छन् । उनी साँच्चै ‘अब किन पढ्नु ?’ ‘पढेर अब के गर्नु छ र ?’ भनेर चुपचाप बसेकाहरुलाई पढाइलाई उमेरले छेक्दैन भन्ने प्रेरणापुञ्ज बनेका छन् । उनको पढ्ने लक्ष्य, उद्देश्यमा सबैले उर्जा थपिदिनु पर्छ, हौसला, प्रोत्साहन दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्