| सोमवार, असार २१, २०८३

हरमटारी सडक स्तरोन्नतिको काम तीब्र गतिमा होओस्

गोरखा नगरपालिकाको यो टिमले गोरखा बजारभित्रको सडक स्तरोन्नति तथा फुटपाथ व्यवस्थित गरेकोमा ठूलो श्रेय पाउने भएको छ । यसअघि बसपार्क क्षेत्रको सडक र फुटपाथ व्यवस्थित गरेर प्रसंसाको पात्र बनेको नगरपालिका अब हरमटारीदेखि चाइनिजधारासम्मको सडक र फुटपाथ व्यवस्थित गरेपछि थप प्रसंसाको पात्र बन्ने भएको हो ।

बसपाक क्षेत्रमा सडक फराकिलो भएको छ । फुटपाथ पनि फराकिलो र व्यवस्थित भएको छ । यद्यापि फुटपाथमा पसलका सामान फिँजाएर व्यापार गरेको, स्कुटर तथा मोटरसाइकल फुटपाथमा पार्किङ गरेको जस्ता आरोप लागिरहेको छ । त्यस्तै त्यतिबेला काम ढिलो गतिमा हुँदा व्यापारी तथा सो सडक प्रयोग गर्नेहरुले लामो समयसम्म सास्ती खेप्नु परेको, धुलोले धेरै असर गरेको जस्ता आरोप पनि खेप्नु परेको थियो ।

अबका दिनमा काम गर्दा यी र यस्ता दोष, आरोप तथा अपजसबाट जोगिएर तिब्र गतिमा काम गर्नु वाञ्छनीय हुन्छ । अहिले यहाँ काम गर्ने निर्माण व्यवसायी पालुङटारमा निर्धारित समयभन्दा छिटो पुलहरु बनाएर प्रसंसा कमाएका ठेकेदार छन् । उनीबाट यथासमयमा काम सम्पन्न गर्नेछन् भन्ने विश्वास छ ।

अन्यथा बसपार्क क्षेत्र भन्दा पनि व्यस्त रहेको हरमटारीको सडक लामो समयसम्म अस्तव्यस्त भयो भने स्थानीयबासी, व्यापारी, व्यवसायी, उपभोक्ता, ग्राहक तथा विभिन्न सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राहरुले ठूलो सास्ती खेप्न बाध्य हुनेछन् ।
गतबर्ष बसपार्कमा नगरपालिका कार्यालय र सडक योजना कार्यालयले काम गरेको थियो । अहिले नगरपालिका कार्यालयले मात्र काम गरेको हो ।

त्यसैले नगरपालिका कार्यालयले नगरबासीको समस्यालाई नजरअन्दाज नगरी छिटोभन्दा छिटो सडक र फुटपाथ निर्माणको काम गरोस् । काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहिन हुने स्थिति नआओस् । बसपार्कमा प्रसंसा कमाएको नगरपालिको हरमटारीमा पनि प्रसंसा कमाओस् ।

प्रतिक्रिया दिनुहोस्