
गुम्बाका बहुमूल्य सम्पदा चोरीको घटनाको अनुसन्धान गर
गाउँका प्राचीन गुम्बाका बहुमूल्य सामग्री चोरिएको भन्दै उत्तरी गोरखाका बासिन्दाले अनुसन्धान गर्न किटानी उजुरी दिएका छन् । चुमनुब्री गाउँपालिका ४ नाम्रुङका प्राचीन नाम्ला गुम्बा, सतुल छ्योलिङ गुम्बा र पाङ्दाङ गुम्बाका बहुमूल्य सामान चोरी भएको भन्दै स्थानीयबासीले चोरी तस्करी गर्नेहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग गरेका छन् ।
गोरखाका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर लेखिएको माग पत्रमामा शंकास्पद दुईजना व्यक्तिहरुको नाम किटान गरिएको छ । उनीहरुले गुम्बाको संरक्षण गर्ने नाउँमा तालाचापी लिएका तर केही समयपछि बहुमूल्य सामान हराएको थाहा भएको दावी गरेका छन् ।
गुम्बाको संरक्षण र मर्मत गर्ने बहानामा त्यहाँभित्र रहेका माटोबाट बनेका हजारौं बर्ष प्राचीन वुद्धका मूर्तिहरु, गुम्बाको सन्दुकभित्र रहेका बहुमूल्य माला तथा अरु मूर्तिहरु, सुनका गरगहनाहरु चिज बस्तुहरु चोरी तस्करी गरी तिब्बती बजारमा पु¥याएको स्थानीयबासीले दावी गरेका छन् । ती सामान तस्कर गर्ने तस्करहरुबाट आफूहरुको ज्यू, ज्यानमा खतरा पुग्ने भएकाले उनीहरुले नाम नखुलाई उजुरी गरेका हुन् ।
बेनामे सो उजुरीमा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई तस्करीमा संलग्नहरुको नाम, ठेगाना किटानीका साथ जाहेर गरेका छन् । उनीहरुले बहुमूल्य सामान चोरी तस्करी गरी बहुमूल्य सामान तिब्बत पु¥याएको भन्दै उनीहरुले झुठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट नागरिकता समेत लिइसकेको दाबी गरेका छन् ।
उनीहरुले गरेको कर्तुतका बारेमा समाजले प्रश्न गर्दा ज्यानमार्ने धम्कीसमेत आएको उनीहरुको भनाइ छ । उनीहरुले जोखिम मलेर उजुरी दिइसकेपछि अब प्रशासनले घटनाको अनुसन्धान गर्न ढिलाइ गर्नु हुन्न । अनुसन्धानपछि सही ठहर्ला वा नठहर्ला तर किटानीका साथ उजुरी परेपछि अनुसन्धानमा ढिला गर्नु हुँदैन ।
प्रहरी, प्रशासनले अपराध अनुसन्धान गर्न केही न केही आधार खोज्छ । आधारका रुपमा उजुरी प्राप्त भइसकेपछि ढिला गर्दा दोषी उम्कने सम्भावना प्रवल हुनसक्छ ।




