| बुधबार, असार १६, २०८३

नक्कली नागरिकता बनाएको बारे अनुसन्धान गर्न ढिला

उत्तर वा दक्षिण सीमा जोडिएका जिल्लाबाट सीमापारिका नागरिकले नागरिकता बनाउने गर्छन् भन्ने सुन्ने गरेको हो । तर हिजोआज नागरिकता बनाउने प्रावधानमा गरिएको कडाइले सुनेजस्तो सजिलोसंग नागरिकता बन्दैन भन्ने विश्वास गरिएको थियो । तर पछिल्लो चरणमा गोरखाकै एक वडाबाट एकजना तिब्बती नागरिकले नागरिकता लिएका छन् भन्ने उजुरी जिल्ला प्रशासन कार्यालयमा परेको छ ।

तिब्बती नागरिक लोरसाङ तेञ्जिङ लामाले प्रोक गाविस वडा नं. ८ को जन्मस्थान कायम लगायतका झुठा विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय गोरखाबाट २०५८ सालमा नागरिकता लिएको स्थानीय उजुरीकर्ताको दावी छ । लोरसाङले २०५८ चैत १४ मा जिल्ला प्रशासन कार्यालय गोरखाबाट लिएको ८८२३१ नम्बरको नागरिकतामा बुबाको नाम लेख्ने महलमा तम्बा छिरिङ लामा लेखिएको छ ।

तम्बा छिरिङ लामाको एक मात्र श्रीमती र एक मात्र छोरा कर्मा छेवाङ लामा रहेको तर लोरसाङ भन्ने झुठा भएको दावी गरिएको छ । साथै कर्मा छेवाङको समेत मृत्यू भइसकेको सो उजुरीमा उल्लेख छ । लोरसाङ चुमनुब्री ४ स्थित नाम्ला गुम्बाका प्रमुख लामासमेत बनेका तथा सो नागरिकता प्रयोग गरी नेपाली राहदानी बनाई विभिन्न देश आवतजावत गरिरहेको पनि उजुरीमा दावी गरिएको छ ।

सो झुठा विवरण पेश गरी नागरिकता बनाउन चुमनुब्री गाउँपालिका ४ नाम्रुङका धावा दोर्जे लामाले सहजिकरण गरेको उजुरीमा किटान गरिएको छ । उजुरीमा उनीहरु दुवैजनालाई कारबाहीको माग गरिएको छ । साथै सोही उजुरीमा धावा दोर्जे लामाले पनि नेपाली र तिब्बती दुवै देशको नागरिकता लिएको उल्लेख गरिएको छ । उनको तिब्बती नागरिकता नागार्जुन नगरपालिका ३ स्थित तिब्बती शरणार्थी शिविरको कार्यालयमा राखिएको भन्दै आवश्यक छानबिन गरी कारबाही गर्न माग गरिएको छ ।

यदि दावी सत्य हो भने उनीहरु दुवैजना जघन्य अपराध गरेसरह कारबाहीका भागेदार हुनेछन् । त्यसैले जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिहाल्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्