| सोमवार, असार १४, २०८३

सम्भव नेपालको निशुल्क स्वास्थ्य शिविरमा तीनसय बढीले सेवा लिए

सम्भव नेपालले गोरखाको भिमसेनथापा गाउँपालिकामा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । त्रिवि शिक्षण अस्पताल महाराजगंजको प्राविधिक सहयोगमा शनिबार पालिकाको वडा नं ४ धावा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो ।

विकटका नागरिकहरुको स्वास्थ्य सुरक्षा र पहुँचलाई केन्द्रित गरेर शिविर आयोजना गरेको सम्भव नेपालका कार्यक्रम संयोजक उत्तम अधिकारीले बताए । अधिकारीका अनुसार शिविरमा स्त्रीरोग, बालरोग तथा जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो । शिविरमा धावाका तीनसय १७ जना सर्वसाधारणहरु प्रत्यक्ष लाभान्वित भएका उनले जानकारी दिए । जसमध्य २ सय ८७ जनाले ओपिडी सेवा, ३ सय १७ जनाले नै भिडिओ एक्स्रे सेवा, ८५ जनाले मानसिक रोगसम्बन्धी परामर्श तथा ६९ जना बालबालिकाले बालरोग विशेषज्ञ सेवा लिएका छन् ।

विशेष गरी ग्रामीण महिलाहरूको स्वास्थ्यलाई मध्यनजर गरेर पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा सञ्चालन गरिएको उनको भनाई छ । शिविरमा बिरामीहरुको रोगको प्रकृति हेरेर आवश्यक औषधिहरू समेत निःशुल्क रुपमा वितरण गरिएको थियो । यस्तै, जटिल प्रकृतिका बिरामीहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफरल सेवासमेत उपलब्ध गराएको आयोजक संस्थाले जनाएको छ ।

विगत डेढ दशकदेखि प्रेमकुमार खत्रीको नेतृत्वमा सम्भव नेपालले गोरखा जिल्लामा शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, स्वरोजगार तथा महिला सशक्तिकरण लगायतका क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको छ । संस्थाले यसअघि पनि गोरखाको शहिदलखन, आरुघाट र गोरखा नगरपालिका लगायतका विभिन्न स्थानमा विशेषज्ञ स्वास्थ्य शिविरहरू सञ्चालन गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्