
हिउँचितुवाको संरक्षणमा तत्परता दिउँ
नेपालको उच्च हिमाली पारिस्थितिकीय प्रणालीको ऐना र सूचक मानिने हिउँचितुवा आज अस्तित्वको गम्भीर सङ्कट झेलिरहेको छ । जैविक विविधता र पर्यावरण सन्तुलनका लागि यो सुन्दर जीवको उपस्थिति जति महत्वपूर्ण छ, यसको घट्दो सङ्ख्या उत्तिकै चिन्ताजनक छ । हालैका तथ्याङ्कहरू अनुसार देशभर जम्मा ३९७ वटा मात्र हिउँचितुवा बाँकी रहेको अनुमान छ, जसले यिनको संरक्षणका लागि तत्काल र ठोस कदम चाल्नुपर्ने आवश्यकतालाई प्रस्ट पार्छ ।
सन् २०१२ मा गरिएको अध्ययनले गोरखाको मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्रमा गरी जम्मा ३४ वटा हिउँचितुवा फेला पारेको थियो । तर बिडम्बना, त्यसयता सरकारी स्तरबाट यस क्षेत्रमा विस्तृत र आधिकारिक गणना तथा अध्ययन हुन सकेको छैन । पछिल्लो समय सन् २०२० देखि २०२२ सम्म गैरसरकारी क्षेत्रबाट गरिएको एक अध्ययनले मनास्लु क्षेत्रभित्र मात्र १५ वटा हिउँचितुवा रहेको देखाएको छ ।
यसले हिउँचितुवाको संख्या केही बढेको हुन सक्ने झिनो आशा त जगाउँछ, तर प्रक्रिया नपुगेको भन्दै सरकारले यसलाई मान्यता दिएको छैन । आफू पनि नियमित गणना र अद्यावधिक नगर्ने गैरसरकारी संस्थाले गरेको अध्ययन, गणनालाई पनि मान्यता नदिँदा यस प्रजाति संरक्षणको दीर्घकालीन रणनीति बन्न सक्दैन ।
हिउँचितुवा केवल एउटा वन्यजन्तु मात्र होइन, यो हिमाली खाद्य शृङ्खलाको शीर्ष स्थानमा रहने प्राणी हो । यसको उपस्थिति वा अनुपस्थितिले समग्र हिमाली पर्यावरणको स्वास्थ्यलाई निर्धारण गर्दछ । जलवायु परिवर्तन, वासस्थानको विनाश, आहाराको कमी र मानव वन्यजन्तु द्वन्द्वका कारण यो रैथाने जीव दिनानुदिन संकटमा पर्दै गएको छ ।
अतः हिउँचितुवा जस्तो बहुमूल्य र हिमाली पर्यावरणका लागि अपरिहार्य प्राणीलाई लोप हुनबाट जोगाउन अब ढिलाइ गर्नु अभिषाप हुनेछ । यसका लागि संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकार, संरक्षणवादी संस्थाहरू र स्थानीय समुदायको एकीकृत सक्रियता जरुरी छ । हिमाली पर्यावरणको शान हिउँचितुवा जोगाउने महाअभियानमा राज्यले नेतृत्वदायी र जिम्मेवार भूमिका खेल्नुपर्छ ।




