
दोभानखोला हाइड्रोपावरद्वारा बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण
उत्तरी गोरखाको धार्चे २ दोभान र धार्चे १ हुलचुक जोड्नेगरी बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ । दोभान खोला जलविद्युत आयोजनाले उक्त बेलीबिज्र निर्माण गरेको धार्चे १ हुल्चुकका वडाअध्यक्ष रामसिंह गुरुङले जानकारी दिए । बुढीगण्डकी नदी माथि करिब ४२ मिटर लामो बेलीब्रिज निर्माण कार्य सम्पन्न भएको उनले जानकारी दिए । गुरुङका अनुसार दोभान खोला हाईड्रोपावर आयोजनाले आफ्नो परियोजनाको काम संचालन गर्नका लागि र स्थानीयबासीलाई समेत आवत जावतमा सजिलो होस् भन्ने उद्देश्यले उक्त पुल निर्माण गरिएको वडाअध्यक्ष गुरुङले जानकारी दिए । बेलिब्रिज निर्माण भएपछि बेनिघाट(लार्के सडकबाट हुलचुक सम्म सवारी साधन सहजै पुग्न सक्ने हुँदा स्थानीयबासीलाई ठूलो राहत पुग्ने विश्वास गुरुङले व्यक्त गरे । जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तर्गत पुल निर्माण गरेको हो ।

‘पुल हामी हुल्चुकबासीको आवश्यकता हो’, गुरुङले भने, ‘हाईड्रोपावरको काम पनि पुल निर्माण नगरी अघि नबढ्ने रहेछ । पुल बनेपछि आयोजनाको काम पनि अघि बढ्ने भयो । हामी हुल्चुकबासी पनि लाभान्वित हुने भयौँ ।’
धार्चेको सबै वडामा मोटर पुगे पनि पुल्र नहुँदा धार्चे गाउँपालिका वडा नं १ हुल्चुकमा अहिलेसम्म मोटर पुग्न सकेको थिएन । पुल बनेर यहाँ पनि मोटर चल्न थालेपछि धार्चे गाउँपालिकाको सबै वडाहरुमा यातायातको सुबिधा पुग्ने वडाअध्यक्ष गुरुङको भनाइ छ । हुल्चुकमा यातायातको सुबिधा नहुँदा महङ्गोमा खाद्यन्न सामाग्री ढुवानी गर्नुपर्ने बाध्यक्ष रहेको थियो । ‘धार्चे ३ दोभानसम्म बजारकै भाउमा सामान आउँछ । तर, दोभानपारि हुल्चुकमा मोटर नआउँदा खाद्यान्न सामाग्री प्रतिकेजी ५ रुपैँयाको दरले भाडा तिरेर खच्चडमा ढुवानी गर्नुपर्ने बाध्यता थियो’, वडाअध्यक्ष रामसिंह गुरुङले भने । बेलीबिज्र निर्माण भएपछि हुल्चुकबासीले बजारको मुल्यमा नै खाद्यन्न खरिद बिक्री गर्न पाउने उनले बताएका छन् ।

करिब ५ करोड रुपैयाँ लागतमा बेलीब्रिज निर्माण भएको हो । सो पुल निर्माणको काम गत फागुनबाट सुरु भएको थियो । सो बेलिब्रिज भन्दा केही माथि यारु खोला जलविद्यु्त आयोजनाले पनि अर्को बेलिब्रिज निर्माणको काम धमाधम अघि बढाइरहेको छ ।




