| शनिबार, असार ५, २०८३

पाहा संरक्षण गर्नु अपरिहार्य

अहिले धार्चेका कतिपय गाउँका बासिन्दा पाहा सिकार गर्न लेक–लेकतिर पुगेका छन् । गर्मी चढेदेखि बाढी पहिरो नआउञ्जेल लेकाली खोलाहरुमा पाहा पाइन्छ । समुद्री सतहबाट १५०० देखि ४००० मिटर उचाइसम्म पाइने पाहा मानव स्वास्थ्यका लागि अति उत्तम मात्र नभै उच्च पौष्टिकतत्वले भरिपूर्ण पनि हुने भएकाले त्यस भेगका बासिन्दा पाहा सिकार गर्न धेरै दुख, कष्ट गरी लेकतिर जाने गर्छन् ।

पाहा सिकार गर्ने प्रचलन गोरखाको मात्र नभै देशभरका उच्च पहाडी भूभागको हो । पाहा फेला पारेपछि पछारेर सिकार गर्ने गरिन्छ, त्यसैले नै ‘पाहा पछारेझैं पछार्ने’ उक्ति देशभर प्रचलित छ । स्थानीय युवाहरु दुई तीनदिनको बाटो हिडेर लेकसम्म पुग्ने गर्छन् । केही रात लेकमै शिविर बनाएर बस्ने र पाहा सिकार गर्ने गर्दछन् ।

पाहाको सिकार रातमा हुने गर्दछ । दिनभर पाहा आहाराको खोजीमा विभिन्न ठाउँमा छरिन्छ । रातपरेपछि ठूला ढुंगाको अन्तरमा बास बस्छ । त्यही मौका छोपेर पाहाको आँखामा चम्किलो टर्च लाइट बाल्छन् । त्यसो गर्दा पाहा लाटो हुन्छ अनि समात्ने गर्छन् । समातेको पाहालाई खुट्टामा समातेर टाउकोतर्फ भुईमा पछारेर मार्ने गर्छन् ।

कसैकसैले पाहा बिक्री गरेर आर्थिक आम्दानी पनि गर्ने गर्दछन् । विशेषगरी यो सहरी क्षेत्रमा बसोबास गर्नेले किन्ने गर्छन् ।
तर पछिल्ला बर्षहरुमा पाहा पाउन कम भएको छ । पहिले नजिक नजिक पाइने पाहा पछिल्ला बर्षहरुमा धेरै पर पुगेपछि मात्र फेला पार्न सकिन्छ । जलवायु परिवर्तन र असावधानीवश गरिने सिकारले यो विस्तारै लोप हुदै गइरहेको छ ।

विशेषगरी सिकारीहरुले यसको अण्डासमेत सिकार गर्ने गर्छन् । त्यसो हुँदा प्रजनन प्रणालीमै असर परेर यसको विनाश हुने गर्छ । अब यसको संरक्षण गर्ने बारे सोच्ने बेला भइसकेको छ । अर्थात पाहा पालन गरेर पनि आवश्यकता परिपूर्ति गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्