| सोमवार, असार १, २०८३

रातभर रोदीघर र होटल चलाउने नियम छ र ?

गोरखाको एक रोदीघर र त्यहाँ संगै रहेको होटलमा रातभर जाँडरक्सी खाएर झगडा हुँदा निर्घात कुटिएका एक व्यक्तिको मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं. ७ नयाँबजार(छिपिटोल)स्थित रोदी घर र त्यससंगै रहेको एक होटलमा रातभर रक्सी खाएर झगडा पर्दा गत बिहिबार बिहान तीनबजेतिर कुटाइ खाएका बारपाक सुलिकोट ३ गम्बाङका सन्तबहादुर गुरुङको शुक्रबार मृत्यू भएको छ ।

हाल गोरखा नगरपालिका ७ पन्थेस्वाँरा बस्दै आएका उनीमाथि कुटपिट गरेका गोरखा नगरपालिका ७ रोहटेपानीका बोनस शाक्य, धार्चे २ का मिङ्मार गुरुङ धार्चे १ हुलचुकका सन्तोष गुरुङ र सिरानचोक २ थालाजुङका होमराज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

गोरखा बजारका कुनै पनि रोदीघर र होटल रातभर चलाउने नियम छैन तर गोरखा नगरपालिकाले सो ठाउँमा निर्माण गरेको बहुउद्देश्यीय हलमा सञ्चालित रोदीघर र त्यससंगै रहेको एक होटल रातभर खुल्ने गर्छ । त्यहाँ रातभर जाँडरक्सी खाएर होहल्ला गर्नेहरुले आसपासका क्षेत्रको शान्ति तथा अमनचयन भंग गर्ने गरेको छ । साथै त्यहाँ ठूला स्पीकरमा बज्ने गीत संगीतले विद्यार्थीहरुको पढाइलेखाइमा नकारात्मक असर गर्ने गरेको, वृद्धवृद्धा, युवायुवतीहरुलाई पनि राती सुत्न सकस हुने गरेको लगायतका समस्या छ ।

त्यस्तै जाँडरक्सी खाएर होहल्ला र झैझगडा गर्दा शान्ति सुरक्षामा चुनौति थपिएको छ । यसबारेमा स्थानीयबासीले टोल विकास संस्था, वडा कार्यालय, प्रहरी प्रशासन र नगरपालिकालाई बारम्बार गुहार्ने गरेका छन् । ती निकायले पनि रोदीघरलाई राती ११ बजे बन्द गरिसक्न निर्देशन गरेको छ । साथै होहल्ला बाहिर नजाने प्रविधिको प्रयोग गर्न निर्देशन गरेको छ ।

तर निर्देशन लत्याउँदै रोदीघरले होहल्लालाई कायमै राखेको छ भने निर्धारित समयमा बन्द पनि गरेको छैन । प्रचलित कानून तथा नीति, नियम पालना नगर्नेहरु दण्ड सजायँको भागिदार हुनुपर्छ । यसमा निमयम निकाय निर्मम हुनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्