
शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ लोकार्पण
लेखक तथा राजनीतिकर्मी शोभा अधिकारीको पुस्तक ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच अधिकारीद्वारा लिखित पुस्तक लोकार्पण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लेखिका अधिकारीले पुस्तकले पाठकलाई आत्मपहिचान, क्षमता विकास तथा सकारात्मक सोच निर्माणमा प्रेरित गर्ने विश्वास व्यक्त गरिन् । ‘यो पुस्तकले आफूलाई चिन्न, आफ्नो क्षमता पहिचान गर्न, आत्मविश्वास बढाउन, सही निर्णय गर्न, सकारात्मक सोच विकास गर्न र जीवनलाई सार्थक बनाउन प्रेरित गर्नेछ,’ उनले भनिन्, ‘यो पुस्तक साथी पनि हो, सल्लाहकार पनि हो र जीवनको मार्गप्रदर्शक पनि हो ।’
आफ्नो सिर्जना (पुस्तक) आत्माको बीउ भएकाले पाठकको जीवनमा सफलताको बिरुवा उम्राएर हुर्काउन मद्दत गर्ने उनको भनाइ छ । कार्यक्रममा साहित्य, कला तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । गोरखा नगरपालिका १३ देउराली घर भई काठमाडौं बस्दै आएकी अधिकारीले यसअघि आमाको आँखा लघुकथा संग्रह प्रकाशन गरिसकेकी छिन् भने एशिया कन्टिनेण्ट एवार्ड २०८२ प्राप्त गरिसकेकी छिन् ।




