| मङ्लबार, जेष्ठ २५, २०८३

आरुघाटमा सम्पन्न मोतियाबिन्दु शल्यक्रिया शिविरमा ८५ जनाले सेवा लिए

गोरखा लायन्स आँखा सेवा केन्द्रले आरुघाट गाउँपालिकामा आयोजना गरेको आँखाको बृहत मोतियाबिन्दु शल्यक्रिया शिविरमा ८५ जनाले सेवा लिएका छन् । आरुघाट गाउँपालिका तथा गोरखा लायन्स आँखा सेवा केन्द्रको आयोजनामा आरुघाट आधारभुत अस्पतालमा सम्पन्न शिविरमा ८५ जनाको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया भएको हो ।

हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोग एवं आई केयर फाउन्डेसनको आर्थिक सहयोगमा गत शुक्रबार र शनिबार शिविर संचालन भएको गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकिय अधिकृत विश्वप्रकास अर्यालले बताए ।
केन्द्रले हरेक वर्ष जिल्लाको हरेक स्थानीय तहहरुमा पुगेर निशुल्क आँखाको बृहत मोतियाबिन्दुको शल्यक्रिया शिविर संचालन गर्दै आएको उनले जानकारी दिए । विकटमा बासिन्दाहरुलाई उनीहरुकै गाउँठाउँमा पुगेर विषेशज्ञ चिकित्सकसहितको आँखा जाँच सेवा दिने उद्देश्यले केन्द्रले निशुल्क शिविर संचालन गर्दै आएको अर्यालको भनाई छ ।

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङको अध्यक्षता एवं गोरखा लायन्स आँखा सेवा केन्द्रका अध्यक्ष श्यामबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको मोतियाबिन्दु शल्यक्रिया शिविरमा केन्द्रका सचिव गोबिन्द बहादुर गुरुङ, सदस्यहरु अयोध्या जोशी, संजय अधिकारी, राजनराज पन्त, विशेषज्ञ टोली, स्वास्थ्यकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्