| बिहिबार, बैशाख २३, २०८३

बिग्रेभत्केको सडक मर्मत कसले गर्ने ?

गोरखा बजारबाट आहाले हुदै आरुघाट वा बुंकोट जाने सडक बराहभन्दा केही पर पहिरो गएर जोखिम अबस्थामा रहेको चार बर्ष भयो । यसलाई मर्मत गरेर साविकै अबस्थामा ल्याउने वा जोखिम न्यूनिकरण गर्ने प्रयास कुनै पनि तहबाट भएको देखिएन ।
सडकको काम गर्ने मुख्य कार्यालयका रुपमा जिल्लामा सडक योजना कार्यालय छ, तर बजेट तथा कार्यक्रम अत्यन्त न्यून छ ।

पूर्वाधार कार्यालय छ, त्यसले पनि नयाँ ठाउँमा सडक निर्माण र स्तरोन्नतिको काम मात्र गर्छ । सहरी विकास कार्यालय पनि भर्खरै स्थापना भएको छ तर यसको पनि कार्यक्रम अत्यन्त न्यून छ ।

ठाउँठाउँमा सडक भत्केका हुन्छन् । ठेकेदारले काम सकिसकेको हुन्छ, ठेकेदारलाई फेरि लगाउन मिल्दैन । आयोजना सम्पन्न भएपछि कार्यालयहरु पनि कानमा तेल हालेर बस्छन् । पालिकाहरु पनि अर्को कार्यालयले बनाएको सडक बिग्रे, भत्केमा कानमा तेल हालेर बस्छन् । दमौलीमा रहेको सडक डिभिजन कार्यालयले आँबुखैरेनी गोरखा सडकबाहेक अरुतिर नजर लाउँदैन ।

यस्तो बिग्रे भत्केका, जोखिम बढेका ठाउँमा सडक मर्मत सम्भार गर्ने काम कसले गर्ने ? अन्यौल छ, त्यसैले आजसम्म यो जोखिम सडकको अबस्था ज्यूँका त्यूँ छ । अझै कति समयसम्म यस्तै जोखिम भइरहने हो ? जवाफदेही निकाय कुन हो ?
जिल्लामा एउटा यस्तो कार्यालय होओस्, जसले सम्पूर्ण सडकको काममा अग्रसरता लिओस् । तैँ चुप, मै चुप गरेर बस्ने अबस्था समाप्त होओस् ।

अहिले कार्यालय छैन भनुँ, संघ सरकार माताहतको कार्यालय पनि छ, प्रदेश सरकार माताहतको कार्यालय पनि छ । तर छ भनुँ भने चार बर्षदेखि पहिरोले जोखिम बनाएको सडकको मर्मतसम्भार भएको छैन । कसले गर्ने पनि निश्चित छैन । यो एउटाले अर्कोको मुख ताकेर बस्ने प्रवृत्ति अन्त्य होओस् ।

प्रतिक्रिया दिनुहोस्