| बिहिबार, बैशाख १६, २०८३

समयमै चामल ढुवानी गरिसक्नु अति उत्तम

बिगतका बर्षहरुमा उत्तरी गोरखाको दुर्गम गाउँका बासिन्दाका लागि सरकारले पठाएको चामल ढुवानी गर्न नसक्दा भोटखोलाका बासिन्दा सरकारी अनुदानको चामल उपभोगबाट वञ्चित हुने गरेका थिए । तर यसबर्ष उत्तरी गोरखाका खाद्य डिपोहरुमा निर्धारित समयमै कोटा अनुसारको चामल ढुवानी भएको छ ।

जिल्लाको सिर्दिवास डिपो, नाम्रुङ बिक्री केन्द्र तथा चुमलिङ बिक्री केन्द्रमा चामल ढुवानी भैसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले जनाएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि तीनै वटा बिक्री केन्द्रहरुमा पाँच–पाँच सय क्विन्टल चामलको कोटा निर्धारण गरेको थियो । निर्धारित कोटा अनुसारको चामल चैत मसान्तभित्रै ढुवानी सम्पन्न गरेको हो ।

कम्पनीको सदरमुकामस्थित कार्यालयले निर्धारण गरेको कोटाअन्तरगतको ढुवानी कार्य सम्पन्न भइसकेको छ । यस वर्ष बिमलनगरबाट पनि चुमनुब्रीको तीनै वटा बिक्री केन्द्रहरुका लागि थप ५००–५०० क्विन्टल चामल ढुवानी गर्ने कोटा निर्धारण भएको छ । बिमलनगरबाट ढुवानीको काम सुरु भएपनि चुमनुब्री जाने मुख्य सडक बन्द भएकोले ढुवानी भने हुन सकेको छैन ।

बिगतका बर्षहरुका तुलनामा यस पटक छिटो छरितो काम हुनु सुखद समाचार हो । कार्यालयको यो प्रयास सह्रानीय छ ।
बिगतमा खाद्यको चामल ढुवानीको सन्दर्भमा धेरै तनाब थियो । ढुवानी भाडा घटाघटमा ठेक्का लिने अनि घाटा पर्छ भन्ने ठानी सम्झौता अनुसार ढुवानी नगर्ने, ठेक्का नै रद्द गराइदिने जस्ता नराम्रा काम हुन्थे ।

त्यस्तै कार्यालयले तोकेको भाडा दरमा मिलेमतोमा ठेक्का नै नहाल्ने, दुई पटक, तीन पटकसम्म पुनः ठेक्का अव्हान गर्दा पनि ठेक्का नै नहाल्ने अनि अन्तिम घडी पारेर बढि दरमा ठेक्का हाल्ने प्रवृत्ति पनि थियो । अहिले जे भएको छ, सुखद भएको छ ।

प्रतिक्रिया दिनुहोस्