
पर्यटन प्रवद्र्धनका लागि दिर्घकालिन रणनीति र ठोस् योजना आवश्यक
ऐतिहासिक एवं सांस्कृतिक हिसावले गोरखा पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको जिल्ला हो । जैविक विविधता, मौलिक संस्कृति र परम्पराले पर्यटन बजारमा जिल्लालाई अनुपम बनाएको छ । सम्भावनाका बावजुद पनि पर्यटनको क्षेत्रमा अपेक्षित लाभ लिन हामीले सकेका छैनौ । रणनीतिक योजना र प्रभावकारी कार्यान्वयनबाट मात्र पर्यटन प्रवद्र्धनको सपना साकार हुन्छ भन्ने कुरालाई नर्कान हुदैन ।
सस्तो लोकप्रियताका लागि जिल्लामा हुने हरेक कार्यक्रम तथा गतिविधिहरुमा पर्यटन प्रवद्र्धनको नारा जोडिन्छ । ठोस योजना र रणनीति विना पर्यटन भित्र्याउने लक्ष्य राखिन्छ । भ्रमण बर्षका नारा जोडेर प्रचारप्रसार गरिन्छ तर, प्रतिफल शुन्य हुन्छ । जिल्लाको आजसम्मको अवस्था यही हो ।
पर्यटन प्रवद्र्धनका लागि प्रचार अभियानमात्र पर्याप्त छैन । आवश्यक पूर्वाधार निर्माणसँगै दीर्घकालिन र स्पष्ट रणनीति अति आवश्यक हुन्छ । पर्यटकलाई आकर्षित गर्ने सडक, सरसफाई र आवास लगायतको गुणस्तर सुधार जरुरी छ जुन जिल्लाले कमी महशुस गरिरहेको छ । पर्यटकीय क्षेत्रहरुमा पर्यटकको पहुँच विस्तारतर्फ ध्यान दिनुपर्छ । नयाँ गन्तव्यहरुको पहिचान गर्ने र त्यसको प्रवद्र्धन र ब्राण्डिङमा जोड दिनु पर्छ ।
सामाजिक सञ्जाल, वेवसाइटमार्फत पर्यटकीय स्थल र यसको महत्वको बारेमा प्रचारप्रसार गर्न सक्नुपर्छ । स्थानीय स्तरबाटै संक्रियता देखाउनु अति आवश्यक हुन्छ । होमस्टे संचालन गर्ने, स्थानीय उत्पादन र मौलिक संस्कृतिले पर्यटकलाई आकर्षित गराउन सक्नुपर्छ । तालिमप्राप्त होटल कर्मचारी तथा गाइडको व्यवस्थापनमा जोड दिनु उत्तिकै आवश्यक छ । पर्यटकलाई गर्ने व्यवहारमा परिवर्तन हुनु जरुरी छ । मुख्यतया जिल्ला आएका पर्यटकलाई गोरखामा भुल्ने वातावरण सिर्जना गर्न त्यही अनुसारको पर्यटन पूर्वाधार तयार गर्नु अति आवश्यक देखिन्छ ।
पर्यटन क्षेत्र जिल्लाको अर्थतन्त्रसँग जोडिएको हुन्छ । यसले रोजगारी सिर्जना मात्र होइन संस्कृतिको संरक्षणसँगै स्थानीयलाई स्वरोजगार समेत बनाउछ । जिल्लाका पर्यटकको हव बनाउन अव ठोस् रणनीति र स्पष्ट योजनासहित अघि बढ्नु जरुरी छ । स्थानीय स्तरदेखि नै यसमा सबैले एक्यवद्धता जनाउँदै अघि बढ्नु उपयुक्त हुन्छ ।




