| बुधबार, बैशाख ८, २०८३

विपदको पूर्व तयारी आवश्यक

विपदका कारण बर्षेनी ठुलै जनधनको क्षति जिल्लाले व्यहोर्दै आएको छ । आइतवार र सोमवारमात्र हावाहुरीसहितको बर्षाले धेरैको घरमा क्षति पु¥यायो । चट्याङ लागेर शहिद लखनका एक युवकले अकालमै ज्यान गुमाए ।

भौगोलिक अवस्थाको हिसावले पनि जिल्लामा पहिरो, बाढी, डढेलो र आगलागी जस्ता विपद बारम्वार दोहोरिरहन्छ । यस्ता घटनाले जनधनको ठुलै क्षति पु¥याउँदै आएको यथार्थलाई हामीले पटक पटक भोगिसकेका छौ । विपदको पूर्वतयारी नहुँदा पनि यस्ता घटनाको शिकार हुनुपरेको तितो यथार्थ लुकाएर लुक्दैन ।

विपदका घटना घटिसकेपछि उद्धार र राहतमा केन्द्रित हुनुपर्छ नै तर त्यो भन्दा अघि गरिने तयारी अझ महत्वपूर्ण हुन्छ । पूर्व तयारीले क्षति कम गर्ने मात्र होइन, जनजीवन छिटो सामान्य बनाउन मद्दत समेत गर्छ । तर बिडम्वना हामीसँग सिमित स्रोत साधन छन् । पूर्व तयारीबारे चिन्तन मनन गरिदैन । योजनाभन्दा प्रतिक्रियात्मक काम बढी देखिन्छ । अनि विपदले निम्त्याउने क्षतिलाई न्यूनिकरण गर्न सक्ने अवस्था रहदैन ।

आवश्यक स्रोत साधनसँगै स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय अति आवश्यक हुन्छ । स्पष्ट योजनाको खाँचो पर्छ । जोखिमयुक्त क्षेत्रको पहिचान, समयमै सूचना प्रवाह र उद्धार अभ्यासले क्षति न्यूनिकरणका केही हदसम्म सहयोग पु¥याउछ । बिद्यालयदेखि समुदायस्तरसम्म सचेतनामूलक कार्यक्रम संचालन गर्नु जरुरी छ ।

विपदपछिको उद्धार र राहतका लागि बिभिन्न ठाउँमा आवश्यक उपकरणसहित दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्छ । नयाँ प्रविधिहरुको प्रयोगले पनि क्षतिलाई न्यूनिकरण गर्न सकिन्छ । नागरिक स्वयम पनि सचेत र जिम्मेवार हुनुपर्छ ।

विपदलाई रोक्न सकिदैन तर यसबाट हुने क्षतिलाई भने कम गर्न सकिन्छ यदि बेलैमा पुर्वतयारी गर्न सकियो भने । भविष्यमा आउन सक्ने विपदबाट बच्न र क्षति न्यूनिकरणका लागि हातेमालो गर्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्