
एसईईपछिको समयलाई सदुपयोग गरौं
माध्यमिक शिक्षा परीक्षा (एसईई) केही दिनअघि मात्र सम्पन्न भएको छ । नजिता आउन केही समय लाग्छ । नजिता आउनुअघिसम्मको समय विद्यार्थीका लागि फुर्सदको समय हो । तर यो समयलाई यत्तिकै व्यतित गर्नुभन्दा यसको सही सदुपयोग गर्न सके जीवनकालमा यसले कतै न कतै विद्यार्थीको करिअर निर्माणमा टेवा पक्कै पु¥याउछ ।
त्यसैले आराम गरेर यो समय खेर फाल्नुभन्दा केही सिपमूलक सिकाईतर्फ उन्मुख गराउन सकियो भने फलदायी हुन्छ । एसईई पश्चात विद्यार्थीहरु आफ्नो करिअरको नयाँ चरणमा प्रवेश गर्छन् । भविष्यमा आफू के बन्ने, कुन पेशा रोज्ने निर्णयका साथ अध्ययन गर्ने बिषयको छनोट गर्ने समय पनि यही हो । नयाँ सिपहरु सिक्ने अवसरहरु पनि यही समयमा प्राप्त हुन्छन् ।
भविष्यमा फाइदा पुग्ने प्राविधिक तथा सिर्जनात्मक सिपहरुमा दक्षता हासिल गर्दै जाने बेला पनि यही हो । त्यसैले यो समयमा अनुभवी र बिज्ञहरुसँग आवश्यक सरसल्लाह लिदैं अघि बढ्ने र आफ्नो उदेश्य र लक्ष्यलाई स्पष्ट पार्नु अति आवश्यक छ ।
हुन त लामो संघर्षपछि प्राप्त फुर्सदको केही क्षणमा बिश्राम पनि उत्तिकै आवश्यक हुन्छ ।
कितावी ज्ञानबाट केही समय आफूलाई थोरै टाढा राखेर मनलाई शान्त पार्नुपनि विद्यार्थीहरुका लागि जरुरी छ । लामो समयपछि केही समय मानसिक र शारीरिक आराम गर्नु स्वभाविक पनि हो । तर आरामका बीच पनि यो समयको सही सदुपयोग गर्न सके बुद्धिमता हुने छ ।
हुन त यो पटक अघिल्ला बर्षहरु जस्तो नतिजाका लागि लामो समय कुर्नुपर्ने देखिदैन । सरकारले यही महिनाको अन्तिममा नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । तर पनि यो छोटो समयलाई पनि फुर्सदभन्दा अवसरको रुपमा लिएर सही योजना र सकारात्मक सोचमार्फत उज्वल भविष्य बनाउनतर्फ प्रेरित हुन सके सार्थक हुने थियो ।




