| मङ्लबार, बैशाख ७, २०८३

व्यवसायी टिक्ने वातावरण बनाउ

साना तथा मझौला व्यवसाय नै आर्थिक बिकासको मेरुदण्ड हुन् । रोजगारी सिर्जना गर्ने र उत्पादन बढाउने जिम्मेवारी यिनै व्यवसायीको काँधमा छ । तर चुनौतीका चाङ उनीहरु सामू छन् । त्यसैले त जिल्लामा उद्योग तथा व्यापार छाड्ने क्रम जिल्लामा बढ्दो छ । यस्तो अवस्थामा व्यवसायीलाई प्रोत्साहन गर्दै टिकाउने वातावरण सिर्जना गर्नु अति आवश्यक छ ।

एकीकृत सेवा कार्यालयको तथ्याङ्क अनुसार बिगत तीन बर्ष यता जिल्लामा नयाँ उद्योग तथा व्यापारका फर्म दर्ता गर्नेभन्दा दर्ता भइसकेकाको फर्म खारेज गर्नेको संख्या बढी छ । नयाँ उद्योग थपिने भन्दा भएका उद्योग तथा व्यापार पनि दर्ता खारेज गर्न आउनेको संख्या बढ्दो छ ।

व्यवसाय संचालनका लागि बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिने झन्झटिलो प्रक्रिया एक समस्या हो । त्यसमाथि धितो र उच्च ब्याजदर । विना धितो सरल र सहजरुपमा सहूलियपूर्ण कर्जा उपलब्ध गराउन सके व्यवसाय गर्न तर्फ युवाहरु आकर्षित हुने छन् भन्नेमा दुई मत छैन । पुराना व्यवसायीहरु पनि टिक्न सक्छन् ।

स्पष्ट नीतिको पनि अभाव देखिन्छ । जसले व्यवसायमा अन्यौलता पैदा गर्छ । नीतिगत स्थिरता र पारदर्शिता आवश्यक छ । सीप र प्रविधिको कमी पनि व्यवसायीका लागि अर्काे चुनौती हो । व्यवसायीलाई समय सापेक्ष नयाँ प्रविधिसँग अभ्यस्त बनाउन तालिमहरु प्रदान गर्न सक्नुपर्छ । बजार बिस्तार र पुर्वाधार बिकासको पनि उत्तिकै आवश्यक छ ।

व्यवसायीलाई करको मारमा पार्नु हुदैन । उनीहरुलाई केवल कर तिर्ने इकाइका रुपमा हेरिनु दुखद हो । व्यवसायीको मनोवल बढाउन उनीहरुको हक हितका लागि कार्यक्रम तथा योजनाहरु ल्याउनुपर्छ । सरकारले त्यही अनुसारको नीति ल्याउनुपर्छ । जब व्यवसायी बलिया हुन्छन् अर्थतन्त्र बलियो हुन्छ । त्यसैले व्यवसायीलाई निरुत्साहित होइन प्रोत्साहन गरौ ।

प्रतिक्रिया दिनुहोस्