| आइतवार, बैशाख ५, २०८३

पहिरोले अवरुद्ध बेनिघाट लार्के सडक खुल्यो

गत चैत २२ गतेदेखि बन्द रहेको बेनिघाट–लार्के सडक दुई सातापछि सुचारु भएको छ । धार्चे ३ कालोभीरको सुक्खा पहिरो हटाइसकेपछि शुक्रबार साँझदेखि यातायातका साधन चल्न थालेको हो । सडक सुचारु भएसँगै चुमनुब्री गाउँपालिकाका बासिन्दा खुशी भएका छन् ।

आवतजावत तथा खाद्यान्न लगायत अत्यावश्यक सामान ढुवानी गर्न सहज भएको चुमनुब्री ३ फिलिमका सुजन गुरुङले बताए । साथै मनास्लु क्षेत्र र चुमभ्याली जाने पर्यटकलाई सहज भएको गुरुङको भनाइ छ । गाउँपालिकाले स्थानीय दुईवटा हाइड्रोपावर कम्पनीलाई सो सडकको पहिरो हटाइदिन आग्रह गरेपछि साहस ऊर्जा र यारुखोला हाइड्रोपावर कम्पनीले पहिरो हटाएको धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

लामो समयसम्म सडक अवरुद्ध हुँदा निर्माण सामग्री ढुवानीमा समस्या भएको थियो । विकास निर्माणका कामहरु प्रभावित बनेको थियो । चुमनुब्री ३ का वडाध्यक्ष रामकुमार गुरुङका अनुसार खाद्यान्न लगायतका सामग्रीको अभाव समेत हुन थालिसकेको थियो । अहिले सडक सुचारु भएसँगै समस्या समाधान भएको छ ।

प्रतिक्रिया दिनुहोस्