| शुक्रबार, बैशाख ३, २०८३

छैठौँ पटक सगरमाथा आरोहण गर्न पूर्णिमा श्रेष्ठ पुगिन् आधार शिविर

दुईहप्तामा तीनपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी आरोही पूर्णिमा श्रेष्ठ छैठौँ पटक सगरमाथा आरोहण गर्न त्यसतर्फ प्रस्थान गरेकी छिन् । सतोरी एड्भेञ्चर प्रालिबाट छैठौँ पटक सगरमाथा आरोहण गर्न प्रस्थान गरिसकेको उनले जानकारी दिइन् ।

उनी अहिले सगरमाथा आधार शिविरमा पुगिसकेकी छिन् । केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनको भनाइ छ । यसअघि उनले २०८१ बैशाख ३०, जेठ ६ र जेठ १२ गते सगरमाथाको चुचुरोमा पुगेकी थिइन् । १४ दिनको छोटो अवधिमा तीनपटक सगरमाथा आरोहण गरेबापत उनलाई यस बर्षको अन्तर्राष्ट्रिय नारी दिवसमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम अंकित गरेको प्रमाणपत्र प्रदान गरेको थियो ।

दुई साताभित्रै तीन पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेको भन्दै सन् २०२४ मा सिएनएन एथ्लेट्सको उत्कृष्ट सूचीमा पनि उनको नाम अंकित गरिएका थियो । पहिलो पटक २०७५ जेठमा सगरमाथा आरोहण गरेकी उनले गतबर्ष २०८२ जेठ ४ गते पाँचौं पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला सगरमाथा, केटु, कञ्चञ्जङ्घा, ल्होत्से, मकालु, मनास्लु, अन्नपूर्ण र धौलागिरी हिमाल विभिन्न समयमा गरी १४ पटक आरोहण गर्ने क्रममा उनले विभिन्न शीर्षकका किर्तिमान कायम गरिसकेकी छन् ।
प्रसिद्ध आरोही श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका ९ आरुटारकी हुन् ।

प्रतिक्रिया दिनुहोस्