
गोरखामा स्तरीय होटल खुल्नु सुखद समाचार
नेपालको एक प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपको सिजी हस्पिटालिटीले गोरखामा उच्च गुणस्तरको रिसोर्ट सञ्चालनको तयारी गरेको छ । ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण जिल्ला गोरखामा पर्यटन विकास गर्ने उद्देश्यले चौधरी ग्रुप (सीजी) अन्तर्गतको सिजी हस्पिटालिटीले ‘होटल समिट’ निर्माणको प्रक्रिया अघि बढाउन लागेको हो । गोरखा जस्तो एक पहाडी जिल्लामा स्टार होटल खुल्नु आफैँमा एक सुखद समाचार हो ।
सिजीले गोरखा नगरपालिका ९, टक्सारस्थित जर्नेलडाँडामा हालै होटलको शिलान्यास गरिएको खबरले यहाँको पर्यटन क्षेत्रमा उत्साह थपेको छ । यो केवल एउटा व्यापारिक संरचनाको निर्माण मात्र नभई, गोरखाको समग्र विकास र आर्थिक समृद्धिका लागि एउटा कोसेढुङ्गा सावित हुन सक्ने विश्वास लिइएको छ।
नेपालको एकीकरणको केन्द्र र ऐतिहासिक शक्तिको प्रतीक गोरखामा वार्षिक रूपमा हजारौँ आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन् । गोरखा दरबार, मनकामना मन्दिर र यहाँका प्राकृतिक पदमार्गहरू पर्यटकीय आकर्षणका प्रमुख केन्द्र हुन् । यद्यपि, उच्च गुणस्तरका सुविधासम्पन्न होटल र स्तरीय बसोबासको अभावले पर्यटकको बसाइ अवधि लम्ब्याउन सधैँ चुनौती रहँदै आएको छ । सिजी जस्तो प्रतिष्ठित व्यावसायिक घरानाले स्टार तहको होटल सञ्चालनमा ल्याउँदा यो रिक्ततालाई पूर्ति गर्ने विश्वास गर्न सकिन्छ ।
गुणस्तरीय सेवा र सुविधा भएपछि पर्यटकहरू एकै रातमा फर्किनुको साटो केही दिन बढी बिताउनेछन्, जसले स्थानीय अर्थतन्त्रलाई टेवा पुग्नेछ । त्यस्तै होटल निर्माण र सञ्चालनका क्रममा स्थानीय युवाहरूले रोजगारीको अवसर पाउनेछन्, यसले युवा विदेश पलायन हुने दरमा थोरै भए पनि कमी आउनेछ भने भविष्यमा अन्य लगानीकर्ताहरूलाई पनि गोरखामा आकर्षित गर्नेछ ।
अन्तराष्ट्रियस्तरको ब्राण्डसँग जोडिएपछि गोरखाको नाम विश्वव्यापी पर्यटन बजारमा थप प्रभावकारी रूपमा पुग्नेछ ।
पर्यटनको अपार सम्भावना बोकेको गोरखाका लागि यो एउटा सुनौलो अवसर हो । त्यसैले निजी क्षेत्रले देखाएको यो चासो र लगानीलाई सफल पार्न स्थानीय सरकार र समुदायको सहयोग अपरिहार्य छ ।




