
कालोभीरको पहिरो यथासीघ्र हटाऊ
गोरखाको चुमनुब्री गाउँपालिका र धार्चेको केही भूभागलाई जिल्ला सदरमुकाम र राष्ट्रिय सडक सञ्जालसँग जोड्ने एकमात्र रणनीतिक मार्ग बेनिघाट–लार्के सडक यतिबेला कालोभीरमा खसेको सुख्खा पहिरोका कारण ठप्प छ ।
भौगोलिक रूपमा विकट र चुनौतीपूर्ण भिर छिचोलेर नेपाली सेनाले निर्माण गरेको यो सडक अवरुद्ध हुँदा उत्तरी गोरखाको जनजीवन मात्र कष्टकर बनेको छैन, नेपालकै प्रसिद्ध पर्यटकीय गन्तव्य मनास्लु क्षेत्र जाने पर्यटकहरू समेत समस्यामा परेका छन् । यो अवस्थाले स्थानीय अर्थतन्त्र र देशको पर्यटन छविमा समेत नकारात्मक असर पु¥याइरहेको छ ।
कालोभीरको पहिरो सामान्य प्राकृतिक प्रकोप मात्र होइन, यो दीर्घकालीक समस्यासमेत हो । यो पहिरोका कारण उत्तरी गोरखाका बासिन्दाका लागि खाद्यान्न तथा दैनिक उपभोग्य सामान आपूर्ति ठप्प भएको छ । त्यस्तै सो क्षेत्रका बिरामीहरूलाई अस्पताल पु¥याउन सकिने अवस्था छैन । मनास्लु पदमार्गमा निस्किएका विदेशी पर्यटकहरूले भोग्नुपरेको सास्तीले अन्तर्राष्ट्रिय स्तरमा हाम्रो व्यवस्थापकीय कमजोरीको सन्देश प्रवाह भइरहेको छ । यस्तो संवेदनशील घडीमा सरकारी निकायहरू सक्रिय हुनु जरुरी छ ।
अहिलेको प्रमुख आवश्यकता भनेको सडकको यथाशीघ्र मर्मत र सञ्चालन हो । यो कार्य कुनै एउटा निकायको एकल प्रयासले मात्र सम्भव नहुन सक्छ । यो सडक निर्माणको अनुभव र कठिन भूगोलमा काम गर्ने क्षमता भएकाले नेपाली सेनाको प्रत्यक्ष प्राविधिक रेखदेखमा मर्मत कार्य अघि बढाइनुपर्छ । त्यस्तै धार्चे र चुमनुब्री गाउँपालिकाले स्थानीय स्रोत–साधनको परिचालन र समन्वयमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।
सडक मर्मतका लागि आवश्यक ठुलो उपकरण र बजेटको व्यवस्थापनमा गण्डकी प्रदेश सरकार र संघीय सरकारले ‘संकटकालीन’ प्राथमिकताका साथ पहल कदमी लिनुपर्छ । सडक अवरुद्ध हुनु प्राकृतिक कारण भए पनि त्यसलाई खुलाउन ढिलाइ हुनु मानवीय र प्रशासनिक कमजोरी देखिन्छ । त्यसमाथि पनि यो गृहमन्त्री सुधन गुरुङको गृहगाउँ जाने सडक हो । वर्षायाम नजिकिँदै गर्दा सुख्खा पहिरोले निम्त्याएको यो अवरोधलाई बेलैमा सफा नगर्ने हो भने आगामी दिन अझ भयावह हुन सक्छन् ।




