
सामुदायिक बिद्यालयलाई सक्षम र गुणस्तरीय बनाउ
दुरदराजसम्म शिक्षा पहुँच विस्तारको प्रमुख माध्यमका रुपमा सामुदायिक बिद्यालयहरुलाई लिइन्छ । न्यून आय भएका परिवारका बालबालिकालाई शिक्षाको अवसर दिलाउने पनि यिनै सामुदायिक बिद्यालयहरु नै हुन् । तर बिडम्वना पछिल्लो समय सामुदायिक बिद्यालयप्रतिको आकर्षण घट्दो छ । शैक्षिक गुणस्तरमाथि प्रश्न चिन्ह उठ्ने गरेको छ । सामुदायिक विद्यालयहरूलाई थप सक्षम, गुणस्तरीय र आकर्षक बनाउनु आजको आवश्यकता हो ।
निजी विद्यालयतर्फ बढ्दो आकर्षणले सामुदायिक विद्यालयहरु ओझेलमा पर्न थालेका छन् । विश्वास घट्दो छ । सामुदायिक बिद्यालयहरुले दिने नतिजाले पनि शैक्षिक गुणस्तरमाथि प्रश्च चिन्ह उठाउन बाध्य बनाउने गरेको छ । गुणस्तर, पूर्वाधार, शिक्षक व्यवस्थापन र अभिभावकको विश्वासजस्ता पक्षमा अझै चुनौतीहरू कायम छन् । आफ्ना छोराछोरी सामुदायिक बिद्यालयमा पढाउन सरकारी कर्मचारी तथा शिक्षकलाई आव्हान गर्नुपर्ने बाध्यता आएको छ । जिल्लाका केही स्थानीय हरेक नयाँ शैक्षिक सत्रमा यस्तो आव्हान गर्दै आएका पनि छन् ।
पहिलो कुरा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार अपरिहार्य छ । त्यसका लागि शिक्षकहरुलाई थप दक्ष र तालिमप्राप्त बनाउनुपर्छ । शिक्षकहरूको नियमित तालिम, मूल्याङ्कन र प्रोत्साहन प्रणालीलाई प्रभावकारी बनाउनु जरुरी छ । आधुनिक प्रविधिको प्रयोग, पाठ्यक्रम अद्यावधिक र विद्यार्थी–केन्द्रित शिक्षण विधिमा जोड दिनुपर्छ ।
अभिभावक र समुदायको भूमिका पनि महत्वपूर्ण हुन्छ । उनीहरुको सक्रिय सहभागिता आवश्यक देखिन्छ । विद्यालय व्यवस्थापन समितिलाई जिम्मेवार र सक्रिय बनाउनुसक्नुपर्छ । स्थानीय तहको नियमित अनुगमन र निगरानीलाई नकार्न मिल्दैन । समुदाय स्वयं विद्यालयप्रति जिम्मेवार बन्न सके मात्र विद्यालय सुधार हुन्छ । सामुदायिक बिद्यालयमा राज्यले प्रोत्साहन नीति ल्याउनु जरुरी छ ।
सामुदायिक बिद्यालयलाई विश्वासको केन्द्र बनाउन सरकारी तवरबाटै पहल थाल्नु जरुरी छ । विद्यालयमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै प्रोत्साहन नीति अवलम्वन गर्नु पर्छ । शैक्षिक गुणस्तर वृद्धि गर्दै प्रविधिमैत्री शिक्षामा जोड दिन सके सामुदायिक बिद्यालयप्रतिको आकर्षण पक्कै बढ्ने देखिन्छ । अनि मात्र अभिभावक सामुदायिक बिद्यालय खोज्दै आउने छन् ।




