
डण्डीडाँडास्थित बसपार्क अलपत्र नबनाउ
जिल्लामा कतिपय यस्ता योजना छन् जुन सम्पन्न त छन् तर प्रयोगमा छैनन् । जुन उदेश्य लिएर राज्यको लगानी खर्चेर निर्माण भएका ती योजनाहरु उदेश्य अनुरुप प्रयोगमा नआउँदा अलपत्र छन् । छेवेटारस्थित बृद्धाश्रम भवन होस् वा डण्डिडाँडामा निर्माण भएको बसपार्क, प्रयोगविहीन छन् ।
यस्ता योजनाहरु उदेश्य अनुसार यथाशिघ्र प्रयोगमा ल्याउनु आवश्यक देखिन्छ । कुरा गरौ डण्डीडाँडास्थित बसपार्कको । दुई करोडभन्दा बढी राज्यले लगानी खर्चिसक्यो । बजार क्षेत्रको सवारी पार्किङलाई व्यवस्थित गर्ने उदेश्यले बनेको बसपार्क हालसम्म संचालनमा आउन नसक्नु दुखद हो । बनिसकेको संरचनालाई प्रयोगमा ल्याउन के ले रोक्यो ? कहाँ गाँठो प¥यो ? के ले अवरोध पु¥यायो ? यी प्रश्नको उत्तर खोज्नु जरुरी छ ।
एक त राज्य पक्षकै कमजोरी देखिन्छ । उक्त बसपार्कलाई उदेश्य अनुरुप संचालनमा ल्याउने ल्याकत राज्यले राख्न सकेन । लगानीको सदुपयोग गर्न सकेन । आवश्यकता अनुसार नियममा बाँधेर बाध्यकारी अवस्था सृजना पनि गराउन सक्नुपर्छ राज्यले । अर्काे यातायात व्यवसायीलाई पनि सो स्थानमा आफ्नो सवारी पार्किङ गर्दा सुरक्षाको प्रत्याभूति हुनुपर्छ ।
आधारभूत सेवासुविधाको व्यवस्था हुनुपर्छ । स्टाफका लागी होटल तथा लज, सवारी मर्मतका लागी ग्यारेज र सहज आउजाउका लागी पक्की सडकको व्यवस्था नहुनु पनि बसपार्क संचालनमा ल्याउन नसक्नुको कारणमध्ये एक हो । साथै सुरक्षाको प्रत्याभूति पनि नहुदाँ यातायात व्यवसायी अन्योलमा छन् ।
भएको बसपार्क सवारी पार्किङविहीन बन्दा बजार क्षेत्रमा सवारी पार्किङमा समस्या थपिएकै छ । सहज सवारी आवागमनमा बाधा पुगेकै छ । बसपार्क संचालनका लागि नगरपालिकाले आजैबाट पहल थाल्नुपर्छ । व्यवसायीहरुसँग छलफल चलाउनुपर्छ । आवश्यक पूर्वाधारहरु तयार गर्नुपर्छ । सुरक्षाको प्रत्याभूति गराउनु सक्नुपर्छ । अनि व्यवसायी स्वतः सवारी पार्किङका लागि बसपार्क आइपुग्छन्, बाध्यकारी अवस्था सृजना गरिराख्नै पर्दैन ।




