
जिल्लामै नयाँ बर्ष मनाउने परिपाटीको बिकास गरौं
नेपाली नयाँ बर्ष नजिकिदै छ । ठाँउठाउँमा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । बिदेशी नयाँ बर्षलाई उत्सवको रुपमा मनाउने प्रवृति बढिरहेका बेला नेपाली नयाँ बर्षले पनि महत्व पाउनुलाई सकारात्मक नै मानौ । तर बिडम्वना, पछिल्लो समय पश्चिमा संस्कृति हावि हुदाँ हाम्रो संस्कृति र परम्परा जर्गेनामा चुनौति थपिदै गएको छ । आधुनिकताको नाममा मौलिकता गुम्दै गएको छ । चाडपर्वहरु ओझेलमा पर्न थालेका छन् ।
नयाँ बर्ष कै कुरा गरौ । नेपालीभन्दा बिदेशी नयाँ बर्षमा बढी तामझाम देखिन्छ । व्यापाक रुपमा कार्यक्रमहरु आयोजना गरिन्छन् । तर नेपाली नयाँ बर्षलाई अझै धुमधाम बनाउन हामीले सकिरहेका छौ । पश्चिमा संस्कृतिले हाम्रो परम्परालाई चुनौती दिइरहेको यहीबाट प्रष्ट हुन्छ ।
हुन त पछिल्लो समय नेपाली नयाँ बर्षले पनि केही महत्व पाउन थालेको छ । विविध कार्यक्रमका साथ मनाउने क्रम बढ्दो छ । गोरखामा पनि विगत दुई बर्षदेखि गोरखा होटल संघले नयाँ बर्षमा विविध कार्यक्रम आयोजना गर्दै आएको छ । जिल्लामै नयाँ बर्ष मनाउने परिपाटीको सुरुवात गर्ने संघको यो कदम सम्मानयोग्य छ । यो बर्ष पनि सघंले नयाँ बर्षको अवसरमा रैथाने खाना तथा सडक महोत्सवको आयोजना गरेको छ ।
यसको मुख्य उदेश्य भनेको आफ्नै जिल्लामा नयाँ बर्ष मनाउने परिपाटीको बिकास गर्नु हो । साथमा पर्यटन प्रवद्र्धन पनि । यो गर्नु जिल्लामा आवश्यक पनि किन छ भने नयाँ बर्ष मनाउन भन्दै पोखरा, चितवन, काठमाडौं लगायतका शहरहरु केन्द्रित हुने परम्परा बढ्दो छ । ठुला शहरमा हुने ठुला कार्यक्रमहरुप्रति आकर्षण बढ्नु स्वभाविक हो तर जिल्ला स्तरमै नयाँ बर्ष मनाएर संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा टेवा पु¥याउनु पनि हाम्रो दायित्वभित्र पर्छ ।
त्यसैले गोरखा होटल संघको सडक महोत्सवबाटै यो पटकको नयाँ बर्ष उल्लासमय रुपमा मनाऔ । स्थानीय स्तरका कार्यक्रमलाई प्रोत्साहन गरौ । नयाँ बर्ष मनाउन बाहिरी जिल्ला जाने परिपाटीको अन्त्य गर्दै अन्य जिल्लावासीलाई पनि गोरखा भित्र्याउने कोसिसमा जुटौ । जिल्लाको पर्यटन प्रवद्र्धनको सपना साकार पार्न यसले पनि थप एउटा इट्टा थप्ने काम पक्कै गर्ने छ ।




