
डढेलो नियन्त्रणमा एक्यवद्धता आवश्यक
हरेक बर्ष सुख्खा मौसम सुरु भएसँगै वन डढेलोको जोखिम बढ्दै जान्छ । डढेलोले वनको क्षति मात्र होइन वन्यजन्तु र वातावरणसँगै मानव जीवनमा पनि गम्भिर असर पु¥याउँछ । हरियो वन नेपालको धन भने झै वन सम्पदा राष्ट्रको अमूल्य धरोहर हो । तर बर्षेनी डढेलोका कारण वन तथा वन्यजन्तुको क्षति भइरहेको छ ।
डढेलो लाग्नु केवल प्राकृतिक कारण मात्र होइन, मानविय लापरवाही पनि हो । वनको उचित व्यवस्थापनमा कमी र चेतनाको अभावले डढेलोको अवस्था सृजना गरिरहेको छ । डढेलो नियन्त्रण आजको महत्वपूर्ण मुद्दा बनेको छ । बिशेष गरी चैत्र बैशाखलाई डढेलोको मुख्य जोखिम महिनाको रुपमा लिइन्छ ।
यो समयमा वनजंगलमा लापरवाहीपूर्वका छाडिएको साना आगोको झिल्काले पनि सिंगै वन सिध्याउन सक्छ । यस्ता थुप्रै घटना जिल्लाले यसअघि भोगिसकेको छ । वन क्षेत्रमा जथाभावी आगो बाल्नु, चुरोटका ठुटा फाल्नु जस्ता गतिविधिले डढेलो लाग्ने गर्छ । यस्ता साना लापरवाहीले पनि ठुलो विपत्ति निम्त्याउन सक्छ । डढेलोले वन तथा वन्यजन्तुको क्षति मात्र गर्दैन जैविक विविधता गुम्ने, माटोको उर्वराशक्ति घटाउने र जलवायु परिवर्तनमा नकरात्मक प्रभाव पार्ने गर्दछ ।
डढेलो नियन्त्रणका लागि सचेतना अभिवृद्धि अपरिहार्य छ । स्थानीय स्तरसम्म यसको जोखिम र क्षतिबारे जानकारी गराउनुपर्छ । बिद्यालयस्तरदेखि नै डढेलो नियन्त्रण सम्बन्धी शिक्षा प्रदान गर्नुपर्छ । त्यस्तै वन क्षेत्रमा निगरानी प्रणाली मजवुद बनाउनु, आगलागी हुन सक्ने क्षेत्रहरुमा पुर्व तयारीका साथै छिटो प्रतिक्रिया दिने संयन्त्र बिकास गर्नु जरुरी देखिन्छ ।
डढेलो नियन्त्रणमा सम्बन्धी प्रभावकारी नीति आवश्यक छ । डढेलो लगाउनेलाई कारवाहीको दायारामा ल्याउने र संरक्षण गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । डढेलो नियन्त्रण केवल सरकारी निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा कर्तव्य । यसमा सबैको एक्यवद्धता आवश्यक छ ।




