
देश दर्शन अध्ययनका क्रममा प्रशासनिक प्रशिक्षार्थीहरु गोरखामा
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थीहरु देश दर्शन अध्ययनको क्रममा गोरखा आइपुगेका छन् । प्रतिष्ठानको ४० औँ व्याच आधारभुत प्रशासन प्रशिक्षण अन्तरगत रहेको देश दर्शन (के.वाइ.सी) भ्रमण कार्यक्रमका लागि उनीहरु जिल्ला आएका हुन् ।

सरकारको नवनियुक्त राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतहरु जिल्लाको भूगोल, समाज, संस्कृति एवं ऐतिहसिक पक्षहरूको प्रत्यक्ष अनुभूति गर्न आईपुगेको भ्रमणकी संयोजक ज्ञानलक्ष्मी श्रेष्ठले बताइन् । प्रतिष्ठानका अधिकृतहरुको समूहमध्ये ‘लुम्बिनी समूह’ अन्तरगतका २५ जना अधिकृतहरु गोरखा आईपुगेको उनले जानकारी दिइन् ।

प्रशिक्षक ज्ञानलक्ष्मी श्रेष्ठ र शसी शेखर आचार्यको नेतृत्वमा आएको अधिकृतको समूहले जिल्लाको बारपाक सुलिकोट गाउँपालिका, लिगलिगकोट, गोरखा दरबार र गोरखा संग्राहलयको अध्ययन भ्रमण अवलोकन गरेका छन् । उनीहरुलाई प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकर, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी भरतबहादुर विक लगायतले सहजीकरण गरेका थिए ।




