
बडी बिल्डर घलेलाई गोरखा फिटनेसको सम्मान
गोरखाका बडी बिल्डर सुरज घलेलाई गोरखा फिटनेस क्लबले सम्मान गरेको छ । हालै चितवनमा सम्पन्न नवौ मिस्टर हिमालय बडी बिल्डिङ प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका उनलाई आइतवार एक कार्यक्रमकाबीच सम्मान गरिएको हो । धार्चे गाउँपालिका–३ उहियाका उनी ६५ केजी तौल समूहतर्फ प्रतिस्पर्धा गरेका थिए ।
‘एक त उहाँ गोरखावासी,’ गोरखा फिटनेस क्लबका संचालक संगमबाबु श्रेष्ठले भने, ‘उहाँको जित सम्पूर्ण गोरखावासीका लागि गर्वको कुरा हो, त्यसैले सम्मान गरेका हौ ।’ नगदसहित खादा ओडाएर उनलाई सम्मान गरिएको श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका उनले २५ हजार नगद पुरस्कारको साथमा मेडल प्राप्त गरेका थिए ।
गत चैत्र ७ गते बुटवलमा भएको सेकेण्ड मिस्टर रामापिथिकस नेसनवाइड च्याम्पेनसिप प्रतियोगितामा पनि उनी सहभागी थिए । ६५ तौल समूहमा प्रतिस्पर्धा गरेका उनी टप–६ मा पुग्न सफल भएका थिए । आफ्नो गृहजिल्लामा सम्मानित हुन पाउँदा आफू निकै खुशी भएको उनले बताए ।




