| सोमवार, कार्तिक २३, २०८३

सबै कुरामा सरकार कुर्नु पर्दैन भन्ने फिलिमको सुन्दर सन्देश

सबै काम गर्ने जिम्मेवारी सरकारको हो, हाम्रो दैलोसम्म बाटो पनि सरकारले, पानी पनि सरकारले ल्याइदिनु पर्छ । हामीले त सिर्फ सरकारले ल्याइदिएको विकासको उपभोग मात्र गर्ने हो भन्ने भाष्य निर्माण भएको छ । तर, गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित फिलिम गाउँका बासिन्दाले यो परम्परागत भाष्यलाई गलत सावित गरिदिएका छन् ।

बेनिघाट–लार्के सडकको नाग्चेत खण्डदेखि आफ्नो गाउँसम्म करिब दुई किलोमिटर सडक र बूढीगण्डकी नदीमा ह्युमपाइप राखेर अस्थायी पुल निर्माण गर्ने उनीहरूको यो कार्य केवल भौतिक पूर्वाधार निर्माण मात्र होइन, बरु नागरिक सक्रियताको एक उच्च नमुना हो ।

फिलिम गाउँपालिकाको केन्द्र भएर पनि सडक सञ्जालबाट टाढा रहनु यहाँका बासिन्दाका लागि ठूलो सास्ती थियो । दैनिक उपभोग्य वस्तुको ढुवानीमा लाग्ने चर्को मूल्य र बिरामी पर्दा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यतालाई स्थानीय व्यापारी र व्यवसायीहरूको एकताले चिरेको छ । अहिले घरआँगनमै एम्बुलेन्स र मोटरसाइकल पुग्नुले स्थानीयको जीवनस्तरमा ल्याउने परिवर्तनको कल्पना सहजै गर्न सकिन्छ ।

विकास गर्न सरकारै चाहिन्छ वा विदेशी सहयोग नै कुर्नुपर्छ भन्ने परजीवी मानसिकतालाई यसले कडा प्रहार गरेको छ । खाद्यान्न र निर्माण सामग्रीको ढुवानी खर्च घट्दा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष राहत पुग्नेछ । बिरामीलाई समयमै अस्पताल पु¥याउन सम्भव हुनुले मानवीय क्षति कम गर्न ठूलो भूमिका खेल्नेछ ।

स्थानीय स्रोत, साधन र जनशक्ति परिचालन गरेर असम्भव देखिने काम पनि सम्भव बनाउन सकिन्छ भन्ने यसले पुष्टि गरेको छ ।
राज्यको ढुकुटीबाट अर्बौँ खर्च हुँदा पनि कतिपय आयोजनाहरू अलपत्र परिरहेका बेला फिलिमका बासिन्दाले आफ्नै पौरखले गाउँमा मोटर पु¥याउनु सह्रानीय र अनुकरणीय छ । यद्यपि, स्थानीयले सुरु गरेको यो अस्थायी संरचनालाई दीर्घकालीन र सुरक्षित बनाउन अब सम्बन्धित गाउँपालिका र प्रदेश सरकारले थप सहयोग र प्राविधिक सहयोग उपलब्ध गराउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्