| सोमवार, कार्तिक २३, २०८३

वृद्धवृद्धाको थोपाथोपाको बचत र विशाल हृदयको सन्देश

सामान्यतया मानिसको प्रवृत्ति आफू र आफ्ना सन्ततिका लागि मात्रै धनसम्पत्ति थुपार्ने भन्ने हुन्छ । आफ्नो कमाइले सात पुस्तासम्म पुगोस् भन्ने चाहना राख्नेहरूको यो संसारमा भीड छ ।

तर, यही भीडको बीचमा आरुघाट गाउँपालिका २ मान्बु गोरखाका एक वृद्ध दम्पतीले मानवता र परोपकारको यस्तो कञ्चन उदाहरण पेश गरेका छन्, जसले सबैको शिर श्रद्धाले झुकाएको छ । त्यहाँका ८० बर्षका मानबहादुर र पदमकुमारी कार्की दम्पतीले राज्यबाट पाउने वृद्धभत्ताको रकम पेट काटेर जोगाउँदै ५० हजार रुपैयाँ पु¥याएर स्थानीय भवानी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्ने उनीहरूको यो कार्य सामान्य दान मात्र होइन, यो एउटा महान् चेतनाको प्रतीक हो ।

गोरखाको हिमाली भेगबाट आएर छात्रावासमा बस्ने विपन्न विद्यार्थीहरूले आर्थिक अभावका कारण पेटभरि खान नपाएको देखेपछि ती वृद्ध दम्पतीको मन पग्लियो । उनीहरूले आफूलाई बुढेसकालको लौरो हुने रकम विद्यार्थीहरूको खाजाका लागि सुम्पिदिए ।

यो ५० हजार रुपैयाँ ठूला उद्योगपति वा व्यापारिक घरानाका लागि सामान्य रकम होला, तर राज्यले दिएको सामाजिक सुरक्षा भत्तालाई एक–एक गरी साँचेर समाजलाई फिर्ता दिने ती वृद्ध दम्पतीको हकमा भने यो उनीहरूको सम्पूर्ण सर्वस्व हो । धन हुनेसँग सधैँ मन हुँदैन र मन हुनेसँग सधैँ धन हुँदैन भन्ने उखानलाई यी दम्पतीले मन भए धनले छेक्दैन भन्ने तथ्यमा बदलिदिएका छन् ।

यस्तो परोपकारी भावनाको जति प्रशंसा गरे पनि कमै हुन्छ। अहिलेको पुस्ता, जो मेरो र मेरो लागिु भन्ने सोचमा हुर्किरहेको छ, उसका लागि यो घटना एउटा जीवन्त पाठशाला हो । समाजका सम्पन्न वर्ग, विदेशमा रहेका नेपाली र स्थानीय बुद्धिजीवीहरूले समेत यो वृद्ध दम्पतीको पाइलाबाट पाठ सिक्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्