
विद्यालयमा झुसिल्किराको आतंक समाधान गर
अहिले गोरखाको बारपाक सुलिकोट गाउँपालिका ३ स्वाँरास्थित अकला आधारभूत विद्यालयका विद्यार्थी र शिक्षकहरू एक अनौठो तर निकै कष्टकर समस्यासँग जुधिरहेका छन् । विद्यालयका डेस्क बेन्च, भुइँ, भित्ता, छाना र आँगन जताततै झुसिल्किराले ढाकेपछि पठनपाठन मात्र होइन, विद्यालय परिसरमा पाइला टेक्न समेत नसकिने अवस्था सिर्जना भएको छ ।
सुन्दा सामान्य लागे पनि यो समस्याले अहिले भयावह रूप लिएको छ ।
झुसिल्किराको ‘झुस’ शरीरमा बिझेर विद्यार्थी र शिक्षकहरूको जिउभरि डाबर उठ्ने, चिलाउने र कतिपयको आँखामा समेत झुस परेर गम्भीर स्वास्थ्य जोखिम निम्तिएको छ ।
बालबालिकाहरू कापी कलम समात्नुको साँटो शरीर चिलाएर छटपटाउनु पर्ने अवस्था आउनु विडम्बनापूर्ण छ । ससाना नानीबाबुहरूको कोमल छाला र आँखामा यसले पार्ने दीर्घकालीन असरका बारेमा बेलैमा सोच्नु आवश्यक छ ।
धेरैलाई यो समस्या प्राकृतिक र सानो जस्तो लाग्न सक्छ । तर, एउटा सिङ्गो विद्यालयलाई नै भुमरीमा पार्ने गरी फैलिएको यो समस्यालाई सामान्य मानेर बेवास्ता गरिनु हुन्न ।
यो केवल एउटा किराको प्रकोप मात्र होइन, यो जनस्वास्थ्य र बालबालिकाको निर्वाध शिक्षा पाउने अधिकारमाथिको अवरोध हो । यस्तो अवस्थामा विद्यालय परिवारले मात्र आफ्नो स्रोत र साधनले यो समस्या समाधान गर्न सक्दैन । समस्या सानो होस् या ठूलो, जब त्यसले नागरिकको दैनिक जीवन र स्वास्थ्यमा प्रत्यक्ष असर पार्छ, तब स्थानीय सरकारको उपस्थिति अनिवार्य हुन्छ ।
तसर्थ, बारपाक सुलिकोट गाउँपालिका (स्थानीय सरकार) ले यसलाई तत्कालै विशेष परिस्थितिका रूपमा लिएर सहजीकरण गर्न जरुरी छ । कृषि प्राविधिकहरूको टोली परिचालन गरी उचित किटनाशक औषधिको प्रयोग गर्ने, विद्यालय परिसरको सरसफाइमा सहयोग गर्ने र प्रभावित विद्यार्थीहरूको उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था मिलाउन गाउँपालिकाले ढिलाइ गर्नु हुँदैन ।
जनताको घरदैलोको सरकार भनिएको स्थानीय तहले आफ्ना बालबालिकाहरू विद्यालयमा असुरक्षित हुँदा मौन बस्न मिल्दैन । अकला आधारभूत विद्यालयको यो ुझुसिल्किरा आतङ्कु लाई तत्काल अन्त्य गरी विद्यार्थीहरूलाई ढुक्कसँग पढ्ने वातावरण बनाउन स्थानीय सरकारको ध्यान अविलम्ब जाओस् ।




