| सोमवार, कार्तिक २३, २०८३

संसदमा अब उत्तरी गोरखाको बुलन्द आवाज

गोरखाको राजनीतिक इतिहासमा यसपटकको निर्वाचन परिणामले एउटा नयाँ र उत्साहजनक मानक स्थापित गरेको छ । परम्परागत राजनीतिक किल्लाहरू भत्किँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मात्रै चार जना सांसदले संसदमा गोरखाको प्रतिनिधित्व गर्ने अवसर पाउनु आफैँमा ऐतिहासिक छ । दुई प्रत्यक्ष र दुई समानुपातिक सांसदको यो बलियो उपस्थिति केवल संख्याको खेल मात्र होइन, बरु परिवर्तन र विकासका लागि गोरखाली जनताले दिएको स्पष्ट सन्देश पनि हो ।

यसपटकको सबैभन्दा सुखद पक्ष भनेको चुमनुब्री र धार्चे जस्ता भौगोलिक रूपमा अत्यन्तै विकट मानिने क्षेत्रले प्रत्यक्ष रूपमा संसदमा आवाज पु¥याउने मौका पाउनु हो । चुमनुब्रीबाट संसदमा प्रतिनिधित्व गर्ने पहिलो सांसदका रूपमा सुदन गुरुङको उदयले उत्तरी गोरखामा नयाँ आशा जगाएको छ । जेनजी आन्दोलनका अगुवाका रूपमा चिनिएका ऊर्जावान् युवा गुरुङबाट उत्तरी गोरखाको विकासका लागि आक्रामक र रचनात्मक पहल हुने विश्वास लिइएको छ । हिजोका दिनमा तल्लो भेग केन्द्रित राजनीतिक शक्तिको छायामा परेको चुमनुब्रीले अब आफ्नै छोरालाई नीति निर्माणको तहमा पाएको छ ।

त्यस्तै, धार्चेको प्रतिनिधित्व गर्दै संसद् पुगेकी एलिजा गुरुङको उपस्थिति अर्को महत्वपूर्ण पाटो हो । दुर्गमको दुःख र ग्रामीण जीवनका समस्यालाई नजिकबाट भोगेकी, शालिन स्वभावकी गुरुङले धार्चेका आधारभूत समस्या—सडक, स्वास्थ्य र शिक्षा—लाई सदनमा दरिलो गरी उठाउने अपेक्षा गरिएको छ । दुर्गमको पीडा बुझेका व्यक्तिहरू नै नेतृत्वमा पुग्दा विकासका योजनाहरू बालुवाटार र सिंहदरबारका कोठामा मात्र सीमित नभई वास्तविक आवश्यकतामा आधारित हुनेछन् भन्नेमा ढुक्क हुन सकिन्छ ।

नयाँ अनुहार र नयाँ पार्टीप्रति जनताको भरोसा निकै उच्च छ । यो भरोसालाई डगमगाउन नदिन चारै जना सांसदले दलीय स्वार्थभन्दा माथि उठेर, सुझबुझका साथ र आपसी समन्वयमा गोरखाको समृद्धिका लागि काम गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्