| सोमवार, कार्तिक २३, २०८३

जनमतको समुचित कदर होस्

आज प्रतिनिधिसभा निर्वाचन हुदैछ । बिहान सातबजेदेखि साँझ पाँच बजेसम्म अरु जिल्ला जस्तै गोरखाको ३३३ मतदानकेन्द्रमा मतदान हुदैछ । मतदानलाई सभ्य, भव्यतापूर्वक सम्पन्न गर्न निर्वाचन आयोगले केही कसर बाँकी नराखी काम गरिराखेको जनाएको छ ।

२०८४ मा नियमित रुपमा प्रतिनिधिसभा निर्वाचन हुने अवस्थामा थियो । तर भदौ २३ र २४ गतेको जेन जी आन्दोलनको उपजको रुपमा फागुन २१ गते नैे प्रतिनिधि सभा निर्वाचन तोकिएको हो । विशेष परिस्थितिमा आव्हान भएको हुनाले यस निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको विशेष मतको कदर गर्नुपर्ने हुन्छ ।

जेन जीहरुले भ्रष्टाचार निर्मुल, सुशासनको प्रत्याभूति र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवाको माग राख्दै विरोध प्रदर्शन गर्दा १९ जना युवाहरुले ज्यान गुमाउनु प¥यो । भदौ २४ गते संसदभवन(व्यवस्थापिका), सिंहदरबार(कार्यपालिका), सर्वोच्च अदालत(न्यायपालिका) लगायत सयौँ सरकारी एवं नीजि भवन जले । सुरक्षाकर्मी, आम नागरिक र बालबालिकाहरुले ज्यान गुमाए । करोडौँ रुपैँयाको क्षति भयो ।

त्यसपछिको विषम परिस्थितिमा गुज्रिएको राजनीतिलाई निकास दिन निर्वाचन घोषणा गरिएको थियो । निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको मतको कदर नगरे जेन जी आन्दोलन पुनः नदोहोरिएला भन्न सकिन्न । आसन्न निर्वाचनलाई सफल पार्नका लागि राजनीतिक पार्टीहरु लागिपरेका छन् । कतिपय दलहरु आफ्नो पार्टीलाई सुदृढ गरेर चुनावी मैदानमा होमिएका छन् । अधिकांशले युवा जमातलाई निर्वाचनमा उठाएको छ । समग्रमा दलहरु जेन जी आन्दोलनलाई आत्मसाथ गर्दै चुनावी मैदानमा होमिएको अवस्था छ ।

आन्दोलनपछि शिथिल बनेको नेपाली अर्थतन्त्रले निर्वाचनको भार पनि बेहोर्नु परेको छ । यस निर्वाचनलाई सफल पार्नका लागि राज्यले ठूलो लगानी गरेको छ । जसको प्रत्यक्ष असर नेपाली जनता÷मतदाताले उठाएका छन् । मतदाता देश विदेशबाट मतदान गर्न आएको अवस्था छ । यसरी सिमित स्रोत साधनका बाबजुद युवाको बलिदानका कारण सम्भव भएको निर्वाचनको कदर मतदाताहरुले गर्नुपर्छ । निर्बाचित जनप्रतिनिधिहरुले पनि जनताको मर्म र अमूल्य मतको कदर गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्