
दवाव र भयरहित वातावरणमा मतदान गर्न पाउन्
बिहीवार हुने प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको छ । सभासम्मेलन, जुलुस, सामाजिक सञ्जाल लगायतमा चुनावी प्रचारमा प्रतिवन्ध लागिसकेको छ । अब मतदान सम्पन्न नहुँदासम्म चुनाव प्रचारप्रसारका कुनै कार्यक्रम गर्न पाइदैन । राजनीतिक दल र उमेदवारहरूले मतदान केन्द्र वरिपरिका प्रचार सामग्री हटाउनुपर्ने छ । अर्थात्, मतदाता प्रभावित पार्ने क्रियाकलापमा बन्देज छ ।
उमेदवारहरूको प्रचारप्रसारबाट आजित मतदातालाई स्वतन्त्र र शान्त वातावरणमा निर्णय गर्ने अवसर मौन अवधिले दिनेछ । मतदाताको उम्मेदवार चुन्ने स्व–विवेकलाई प्रलोभन र दवावले सधै दवदवामा राख्ने गर्छ । त्यसमाथि सामाजिक सञ्जालबाट मतदाताले झेल्नु परेको दवावको यथार्थता समेत हामीमाझ छर्लङ्ग छ ।
हरेक निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोग प्रतिवद्ध रहन्छ । जिल्ला स्थित सरोकारवाला निकाय पनि यसमा लागि परेको हुन्छ । मतदान स्वतन्त्र, भय र दबाबरहित हुनसकेन भने निरर्थक हुन्छ ।
विगतका निर्वाचनमा हस्तक्षेप र प्रलोभनका केही छिटपुट घटना भए । यसपटक हालसम्म यस्ता घटनाले स्थान पाइसकेको देखिदैन । तर सामाजिक सञ्जालको बढ्दो दवावले चुनौती भने थपिदिएको छ । मौन अवधिभर यसलाई पनि नियन्त्रणको कसीमा ल्याउने प्रयास आयोगले गरेको छ ।
डिजिटल माध्यममार्फत मतदातालाई प्रभाव पार्ने अभ्यासलाई रोक्न उम्मेदवार र दलहरु नै संक्रिय हुनु जरुरी छ । मतदाताले आफ्नो विवेक प्रयोग गरेर उम्मेदवार चुन्न पाउनुपर्छ न की कुनै दवावमा परेर होइन । मौन अवधिले यो अभ्यासलाई प्रोत्साहन पक्कै गर्ने छ ।




