
निर्वाचन सफल बनाउनु सबैको साझा दायित्व
आगामी बिहीबार हुने प्रतिनिधिसभाको निर्वाचनका लागि गोरखा जिल्लाले आफ्नो प्राविधिक र व्यवस्थापकीय तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । जिल्ला सुरक्षा समिति, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको सक्रियताले निर्वाचनको वातावरणलाई थप सुनिश्चित बनाएको छ ।
गृहसचिव र प्रहरी महानिरीक्षकलेसमेत यस निर्वाचनलाई अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषयका रूपमा व्याख्या गर्दै यसको गरिमालाई उच्च राख्न आह्वान गर्नुले पनि यो निर्वाचनको संवेदनशीलता र महत्वलाई प्रष्ट पारेको छ । निर्वाचन लोकतन्त्रको प्राण हो । यसलाई केवल प्राविधिक प्रक्रियाका रूपमा मात्र नहेरी नागरिकको सार्वभौमसत्ता प्रयोग गर्ने एउटा महान् अवसरका रूपमा लिनुपर्छ ।
निर्वाचनलाई शान्त, भयरहित र निष्पक्ष बनाउनु राज्य संयन्त्रको मात्र जिम्मेवारी होइन, यो राजनीतिक दल, उम्मेदवार, नागरिक समाज र आम मतदाताको पनि साझा कर्तव्य हो । चुनावी प्रचारप्रसार र मतदानको दिनमा संयमता अपनाउँदै आचारसंहिताको पूर्ण पालना गर्नु उम्मेदवार, तिनका राजनीतिक पार्टी तथा नेता कार्यकर्ताहरूको दायित्व हो । मतदातालाई कुनै पनि प्रलोभन वा दबाबमा नपारी आफ्नो एजेण्डाका आधारमा मन जित्ने प्रयास नै लोकतान्त्रिक संस्कार हो ।
कुनै पनि डर, त्रास वा प्रभावमा नपरी आफ्नो विवेकको मत प्रयोग गर्नु नै असल नागरिकको पहिचान हो । निर्वाचनलाई उत्सवका रूपमा लिँदै मतदान केन्द्रसम्म पुगेर सही नेतृत्व छान्न हामी चुक्नु हुँदैन । गृह प्रशासनले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई बुझेर जुन सक्रियता देखाएको छ, त्यसलाई मतदानको दिन र मतगणनासम्मै उत्तिकै दृढताका साथ कायम राख्नुपर्दछ ।
अन्तर्राष्ट्रिय समुदायको नजरसमेत नेपालको निर्वाचन प्रणाली र सुरक्षा व्यवस्थामा रहने हुँदा, यो निर्वाचनलाई सफल पार्नु हाम्रो राष्ट्रिय प्रतिष्ठाको विषय बनेको छ । गोरखा जस्तो ऐतिहासिक जिल्लाले शान्तिपूर्ण मतदानको नमुना प्रस्तुत गरेर मुलुककै लागि एउटा सकारात्मक सन्देश प्रवाह गर्नुपर्दछ ।




