| सोमवार, कार्तिक २३, २०८३

महिलालाई एक होइन, अनेक मतदानकेन्द्रको जिम्मा दिऔं

महिला अब कोठामा सजाएर राख्ने सौन्दर्यको साधन होइन, पुरुष सरह जिम्मेवारी निर्वाह गर्न सक्ने सक्षम जनशक्ति हुन् । जिम्मेवारी तथा अवसर पाए भने महिलाले पनि पुरुषले सरह वा त्योभन्दा बढि काम गर्न सक्छन् भन्ने इतिहासका विभिन्न घटनाक्रमले देखाएको छ ।
बिगत केही बर्षदेखि चुनावका बेला महिला कर्मचारीहरु र महिला सुरक्षाकर्मीहरुलाई एउटा मतदानकेन्द्र जिम्मा दिने र त्यसलाई नमूना मतदानकेन्द्र भनेर चर्चा गर्ने अभ्यास छ । पुरुषै पुरुष मिलेर सञ्चालन गरेको कुनै पनि मतदानकेन्द्र ‘नमूना’ घोषणा गर्नु नपर्ने, महिलै महिला मिलेर चलाएको केन्द्रलाई ‘नमूना’ घोषणा गर्नुपर्नाका कारण के हो ?
पुरुष–पुरुष मिलेर चलाएको मतदानकेन्द्र ‘साधारण’ ‘स्वभाविक’ भएझैं महिला–महिला मिलेर चलाएको मतदानकेन्द्र पनि ‘साधारण’ ‘स्वभाविक’ सोच्नुपर्छ । महिला–महिला मिलेर चलाएको मतदानकेन्द्रलाई ‘नमूना’ घोषणा गर्नुले महिलाहरु मात्र मिलेर मतदानकेन्द्र चलाउनुलाई दुर्लभ ठानेको सावित हुन्छ । महिलाको कमाण्डमा मतदानकेन्द्र चलाउनुचाहिँ ‘अस्वभाविक’, ‘अप्रतिक्षित’ हो भन्ने अर्थ लाग्छ । जबसम्म एउटा मात्र मतदानकेन्द्र महिलाहरु मात्रलाई जिम्मा दिइन्छ, तबसम्म महिलाले मात्र निर्वाचन सम्पन्न गराउनु ‘दुर्लभ हो’ भन्ने अर्थ लाग्छ ।
अब एउटा होइन महिला कर्मचारी र महिला सुरक्षाकर्मीहरुले मात्र चलाउने गरी धेरै मतदानकेन्द्र बनाऔं, महिला कर्मचारीहरुको आत्मबल बढाऔं ।
मतदानकेन्द्र चलाउन अतिरिक्त शारीरिक बल प्रयोग गर्नुपर्ने होइन, जुन महिलामाभन्दा पुरुषमा बढि हुन्छ । मतदानकेन्द्र चलाउन सीप, तकनिक, हिम्मत, नेतृत्वगत कौशलता, वौद्धिक कला, कमाण्डिङ स्वभाव चाहिन्छ ।
महिला स्वभावैले वौद्धिक र पर्याप्त गम्भीर हुन्छन् । कुनै पनि जिम्मेवारी सहजताका साथ निर्वाह गर्न मिहिन ढंगले लागिपर्ने जिम्मेवारपन उनीहरुमा हुन्छ । तसर्थ अबका चुनावमा उनीहरुको जिम्मामा एक मात्र नभै अनेक मतदानकेन्द्रको जिम्मा दिनु वुद्धिमानी हुन्छ । यसले उनीहरुको अभिमानलाई इज्जत हुन्छ ।

प्रतिक्रिया दिनुहोस्