| सोमवार, कार्तिक २३, २०८३

वन डँढेलो नियन्त्रणसम्बन्धी पूर्वतयारी अभ्यास

सुख्खा मौसम नजिकिदै गएपछि वन डँढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालय गोरखाले पूर्वतयारी गरेको छ । कार्यालयले सोमबार सदरमुकाम आसपासको एक वन क्षेत्रभित्र डँढेलो नियन्त्रणसम्बन्धी पूर्वाभ्यास गरेको हो ।

वन डँढेलोको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै वन डढेलो नियन्त्रणसम्बन्धी पूर्वतयारी अभ्यास कार्यक्रम सम्पन्न गरेको डिभिजन वन अधिकृत मदनमोहन शाण्डिल्यले जानकारी दिए । सोमबार गोरखा नगरपालिका वडा नं १० स्थित कुवाडी सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ता एवं वन कार्यालयका कर्मचारीहरूको सहभागितामा पूर्वतयारी अभ्यास कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।

पूर्वतयारी अभ्यास कार्यक्रममा सामुदायिक वन क्षेत्रभित्र जम्मा हुने सुक्खा पातपतिङ्गर तथा अन्य प्रज्वलनशील पदार्थ व्यवस्थापन, आगलागी नियन्त्रण गर्ने तरिका, फायर लाइन निर्माण तथा डढेलो फैलिन नदिने उपायहरूबारे प्रयोगात्मक अभ्यास गराइएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी सागर खतिवडाले बताए ।

डिभिजनल वन अधिकृतको नेतृत्वमा आयोजित अभ्यास कार्यक्रममा एयर ब्लोअर, पानी पम्प लगायत आवश्यक डँढेलो नियन्त्रण उपकरणहरुको सुरक्षित तथा प्रभावकारी प्रयोगबारे प्रत्यक्ष प्रशिक्षण प्रदान गरिएको उनले जानकारी दिए ।

वन डँढेलोको मौसम सुरु हुनुअघि नै स्थानीय उपभोक्तालाई व्यवहारिक सीप प्रदान गरी वन क्षेत्रको सुरक्षा सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्