| सोमवार, कार्तिक २३, २०८३

गोरखाको स्मार्ट चुनावी प्रतिस्पर्धा र उन्नत राजनीतिक संस्कार

नेपाली राजनीतिको केन्द्रविन्दुमा सधैं रहने जिल्ला हो— गोरखा । ऐतिहासिक विरासत बोकेको यो जिल्ला अहिले पुनः चुनावी रापले तातेको छ । गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको ‘चार दलीय रस्साकस्सी’ ले देशकै ध्यान खिचेको छ ।

तर, यो तातो माहोलभित्र एउटा यस्तो शीतल पक्ष छ, जसले नेपाली लोकतन्त्रलाई नै उन्नत मार्गमा डोहो¥याइरहेको छ, अन्य जिल्लाहरूका लागि ठूलो पाठ सिकाइरहेको छ । देशका विभिन्न भागबाट चुनावी हिंसा, झण्डा च्याताच्यात र एक–अर्काको अस्तित्व निषेध गर्ने जस्ता असभ्य समाचारहरू आइरहँदा गोरखाको मैदान भने ‘सौहाद्र्रता’ को प्रदर्शनीस्थल बनेको छ ।

चुनावी मैदानमा होमिएका उम्मेदवारहरू बीच तिखो राजनीतिक प्रतिस्पर्धा छ, तर आपसी व्यवहारमा लोभलाग्दो आत्मीयता छ । यो केवल चुनावी दाउपेच मात्र होइन, बरु गोरखाली नेताहरूको बौद्धिक र स्मार्ट राजनीतिको नमूना हो । विभिन्न दलका उम्मेदवार, नेता र कार्यकर्ताहरू सँगै देखिएका छन्, मुस्कुराएका छन् र एक–अर्काको चुनाव चिन्हप्रति सम्मान देखाएका छन् ।

यो दृश्यले एउटा सुखद संकेत गर्छ— गोरखाले केवल प्रतिनिधि मात्र होइन, एउटा उच्च राजनीतिक संस्कारको नेतृत्व गरिरहेको छ । उम्मेदवारहरूको यो ‘स्मार्ट’ प्रस्तुतिले के पुष्टि गर्छ भने, भोलि संसद्को रोस्टममा उभिँदा उनीहरूको तर्कमा धार होला, तर शब्दमा शिष्टता हुनेछ, प्रस्तुतिमा सालिनता हुनेछ ।

चुनाव एउटा प्राविधिक प्रक्रिया हो, जहाँ अङ्क गणितले हार–जितको फैसला गर्छ । तर, गोरखामा देखिएको यो ‘मैत्रीपूर्ण भिडन्त’ले के देखाएको छ भने यहाँ जो–कोहीले जिते पनि जीत अन्ततः लोकतन्त्र र गोरखाली गरिमाकै हुनेछ । संसदमा प्रस्तुत हुने उनीहरूको ढंग, ढाँचा र व्यवहार साँच्चै ‘स्मार्ट’ हुनेछ ।

विपक्षीलाई शत्रु होइन, विचारको प्रतिस्पर्धी मान्ने यो गोरखाली मोडेल आगामी निर्वाचनहरूका लागि प्रेरणाको स्रोत बन्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्