
गोरखाली फुटबलको विकासमा ‘गोर्खाली कप’
गोरखाको खेलकुद इतिहास, विशेष गरी फुटबलको चर्चा गर्दा हरमटारी क्लबको नाम अग्रपंक्तिमा आउँछ। दशकौँदेखि सदरमुकामको खेलमैदानलाई चलायमान बनाउँदै आएको यस क्लबले हालै १० औं गोर्खाली कप फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ। यो केवल एउटा प्रतियोगिताको निरन्तरता मात्र होइन, बरु गोरखाको फुटबल विरासतलाई जोगाइराख्ने एउटा दरो खम्बा पनि हो ।
कुनै पनि खेल प्रतियोगितालाई १० औं संस्करणसम्म पु¥याउनु आफैमा चुनौतीपूर्ण कार्य हो । आर्थिक स्रोतको अभाव, पूर्वाधारको सीमा र व्यवस्थापकीय जटिलताका बाबजुद हरमटारी क्लबले देखाएको यो तत्परता प्रशंसनीय छ । एक दशकअघिदेखि जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता सुरु गरेर यसले गोरखामा व्यावसायिक फुटबलको जग बसालेको थियो । यद्यपि यस वर्ष पृथ्वीनारायण गोल्डकपले पुरस्कार राशिको नयाँ उचाइ तय गरेको छ, तर गोर्खाली कपले खनेको बाटोमै आज गोरखाको फुटबल हिँडिरहेको छ भन्ने तथ्यलाई नकार्न सकिँदैन ।
गोर्खाली कपजस्ता प्रतियोगिताको मुख्य उपलब्धि भनेको स्थानीय युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नु हो । यस्ता खेल मेलाले युवाहरूलाई दुव्र्यसनबाट टाढा राख्न मद्दत र्पुयाउँछ । स्थानीय खेलाडीहरूलाई राष्ट्रिय स्तरका खेलाडीसँग मैदान साझा गर्ने अवसर दिन्छ । जिल्लाको खेल पर्यटन र आर्थिक गतिविधिमा टेवा पु¥याउँछ ।
पुरस्कार राशिमा हुने प्रतिस्पर्धाले खेलको स्तर त बढाउँछ, तर मुख्य कुरा स्थायित्व र खेलाडी उत्पादन हो । हरमटारी क्लबले विगत १० वर्षदेखि देखाएको धैर्यता अन्य क्लबका लागि पनि प्रेरणाको स्रोत हो । अबको आवश्यकता भनेको यस्ता प्रतियोगिताहरूलाई केवल इभेन्टका रूपमा मात्र सीमित नराखी तल्लो तह (ग्रासरुट) देखि नै खेलाडी उत्पादन गर्ने एकेडेमीको अवधारणामा अघि बढ्नु हो ।
१० औं गोर्खाली कपको सफल समापनले गोरखाको फुटबल मैदान अझै उर्वर छ भन्ने सन्देश दिएको छ । खेलकुदको विकासका लागि क्लबको एक्लो प्रयास पर्याप्त हुँदैन । यसमा स्थानीय सरकार, निजी क्षेत्र र खेलप्रेमीहरूको निरन्तर सहयोग अपरिहार्य छ ।




